विश्व मानव अधिकार दिवसको अवसर पारेर जिल्लामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ प्रकाशन पूर्व वार्षिक समीक्षा’कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेकले सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरेको छ ।
जिल्लामा सन् २०२२ को जनवरीदेखि नोवेम्वरसम्मको अवधिमा इन्सेकले १ सय ९५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ९९ जना पीडित भएको अभिलेख गरेको छ ।
इन्सेक अभिलेखका आधारमा हत्याका १३ ओटा, बलात्कार १ सय १ ओटा, बलात्कार प्रयास १२ ओटा, बहुविवाह १५ ओटा, मानव वेचविखन पाँच ओटा, दाइजो नदिएको एक ओटा, जातीय भेदभाव तथा छुवाछुत एक ओटा, यौन दुव्र्यवहार ३५ ओटा, नवजात शिशु हत्या एक ओटा र घरेलुहिंसाका एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले मानव अधिकारको रक्षाका निमित्त सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मानवअधिकारका घटना हुनुको मुख्यः कारण गरीवी रहेको स्पष्ट पार्नुभयो । गरिबीको बारेमा उल्लेख गर्दै उहाँले भन्नु भयो– गरिबी मानसिक र आर्थिक हुन्छ । मानसिक र आर्थिक गरिबी न्यूनीकरण गरेर मात्रै मानव अधिकारको संरक्षण हुन सक्छ ।
कार्यक्रममा मानव अधिकार कानुन विज्ञ कोषराज न्यौपानेले तयार पारेको स्थानीय न्यायिक समितिः भूमिका, उपलब्धी र चुनौतीहरू विषयक कार्यपत्र कानुन व्यवसायी अविक्ता कविता शर्माले प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमामाथि वरिष्ठ अधिवक्ता लीला उदासी र नेपाल वार एशोसिएशन इकाइ झापाका सचिव हेमकला कट्टेलले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जालका अध्यक्ष विष्णुप्रसाद खरेलले गर्नु भएको थियो ।
समीक्षा कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।


