INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीमा मतदाता नामावली अद्यावधिक गराउनेको सङ्ख्या बढ्दै

जिल्ला निर्वाचन कार्यालय गुल्मीमा थपिएको समयमा मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्नेहरुको भिड लाग्न थालेको छ । गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य रोकिएको थियो । अहिले पुन ः असोज १० गतेबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएपछि अहिलेसम्म १ सय ४० जनाले विवरण दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो ।

आयोगले तोकेको आगामी कार्तिक मसान्तको समयसीमाभित्र ५ देखि ८ हजारले नामावली अद्यावधिक गराउने आफूहरुको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । उहाँले विदेशबाट आएका, नयाँ उमेर समूहका र घरमै रहेर पनि नामावली अद्यावधिक नगरेकाहरु विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताउनुभयो ।

आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्ला स्थित निर्वाचन कार्यालय पनि निर्वाचनको व्यवस्थापकीय तयारीमा जुटेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अद्यावधिक, भौतिक पूर्वाधारको अवस्था मूल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरुको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको सूचना सार्वजनिक भएको छ । चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालिगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुंगा ३०, रुरुक्षेत्र २६, सत्यवति ३१ गरेर ३ सय २८ जना मृत्यु भएकाहरुको मतदाता नामवलीबाट नाम हटाइएको छ । त्रुटी हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । गुल्मीमा २०७९ सालको मतदाता नामवली अनुसार जिल्लाभर पुरुष १ लाख १० हजार ७ सय २८ र महिला १ लाख १३ हजार १ सय २० गरेर कुल २ लाख २३ हजार ८ सय ५० मतदाता रहेका थिए ।

गुल्मीमा गत निर्वाचनमा १ सय ४२ निर्वाचन स्थल र २ सय ७९ मतदान केन्द्रहरु रहेका थिए ।

टोपलाल अर्याल

अन्य

भिडियो