राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ ।
राजपुर नपा-९ बलुवाटोल नजिकैको बगैँचामा घाँटी रेटी हत्या भएको अवस्थामा बालकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको हत्या माघ ८ गते राति भएको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।
बालकको टाउकोको पछिल्लो भागमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा लगिएको र घटनाको अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि रामकुमार दानीले बताए ।
सरस्वती पुजाको विषयलाई लिएर माघ ८ गते स्थानीय बालकहरु बिच झगडा भएकोमा आज उनको शव भेटिएको स्थानीयले बताएका छन् । बालकको हत्या कसले र किन गर्यो भन्ने नखुलेको प्रहरीले जनायो ।