INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन नसक्दा सुविधाबाट वञ्चित

विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई महिला तथा बालबालिका कार्यालयले उपलब्ध गराउने अपाङ्गता परिचयपत्र समयमा लिन नसक्दा राज्यले उपलब्ध गराउने सेवा सुबिधाबाट वञ्चित भएको उनीहरूका परिवारका सदस्यले गुनासो गरेका छन् ।

सरकारले रातो, नीलो, पहेंलो र सेतो गरी चार किसिमका परिचयपत्र अपाङ्गता भएका व्यक्तिलाई दिने गरेको छ । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई नीलो, मध्यमलाई पहेंलो र सामान्यलाई सेतो रङको परिचयपत्र दिने गरिएको छ । पूर्ण अशक्तलाई सरकारले मासिक २ हजार रुपियाँ र अति अशक्तलाई मासिक ६ सय रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको छ ।

पहेंलो र नीलो परिचयपत्र भएकालाई शिक्षा, स्वास्थ्य, यातायात जस्ता क्षेत्रमा सुबिधा दिने गरेको छ । तर, परिचयपत्र बनाउनै नसक्दा पूर्ण अशक्त भएकाहरूपनि यो सुबिधाबाट वञ्चित भएका देउमाइ नगरपालिका- १ चमैताकी बालिका थपलियाले बताइन् ।

चमैताका पूर्ण अशक्त भएका र ओछ्यानमै रहेका ५० वर्षीया सुकमाया बिक, ५५ वर्षीया प्रेममाया राई, शारीरिक र बौद्धिक अपाङ्गता भएकी २८ वर्षीया मनमाया तामाङसहित अन्य १२ जनाको परिचयपत्र नहुँदा राज्यले दिने सुबिधाबाट वञ्चित भएको थपलियाले बताइन् ।

अपाङ्गता भएका हरेक व्यक्तिलाई जिल्ला अस्पतालको प्रमुख डाक्टरले चेकजाँच गरी अपाङ्गताको प्रमाणीकरण गर्नुपर्ने हुन्छ भने वडा कार्यालयको पनि सिफारिस आवश्यक पर्छ । यसरी पूर्ण अपाङ्गता भएकाहरूलाई जिल्ला अस्पतालसम्म ल्याउन उनीहरूका परिवारले नसक्दा परिचय पत्र बनाउन नसकिएको बताइएको छ ।

‘पहिला परिचयपत्रका लागि हामीले गाउँगाउँमा शिविर सञ्चलन गरेका थियौं । अपाङ्गता भएका धेरै व्यक्तिहरूको परिचयपत्र गाउँमै बनाइएको छ । शिविरमा छुटेकाहरूको मात्र परिचयपत्र नभएको हो ।’- महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख भगवती घिमिरेले भनिन्-‘पूर्ण अशक्त भएकालाई बोकेरै ल्याउनु पर्ने उनीहरूका परिवारको बाध्यता छ । यहाँ अस्पतालका डाक्टरलाई पनि सधैँ गाउँ लिएर जान समय मिल्दैन । अस्पतालमा आउने अन्य बिरामीको उपचारमा बाधा पुग्छ ।’

तर, सबै अपाङ्गता भएका व्यक्तिलाई सहज ढङ्गले परिचयपत्र दिलाउने प्रयत्न गर्दै गरेको घिमिरेले बताइन् । उनले भनिन्-‘अझै पनि ७० वर्षपुगेका व्यक्तिहरूको नागरिकता छैन । नागरिकता नभइ अपाङ्गताको परिचय पत्र बनाउन सकिँदैन । नागरिकता नभएका र अपाङ्गता भएका धेरै व्यक्ति परिचय पत्र पाउनबाट वञ्चित छन् जस्तो लाग्छ ।’

इलाममा हालसम्म महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूलाई ३ हजार ८ सय ४० थान परिचयपत्र वितरण गरिसकेको घिमिरेले जानकारी दिइन् ।

अन्य

भिडियो