INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीलाई स्ट्रेचरकै भर

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाकी २५ वर्षीया निर्मला घर्तीलाई असार २६ गते सुत्केरी व्यथाले च्याप्यो । नजिकैको स्वास्थ्य चौकीमा प्रसूति सेवाको व्यवस्था नहुँदा आफन्तले उहाँलाई जिल्ला अस्पताल पुर्याउन एम्बुलेन्सको लागि खबर भयो । पहिरोका कारण केही दिनदेखि सडक अवरुद्ध भएपछि एम्बुलेन्स सालचौर भन्दा माथि जान सकेन । सुत्केरी व्यथाले च्यापेकी निर्मलालाई आफन्तले स्ट्रेचरमा बोकेर एम्बुलेन्स रोकिएको स्थानसम्म ल्याए । पहिरो मात्र नभई वर्षाको भेलले बाटाे चिराचिरा पारेपछि घर्तीलाई स्ट्रेचरमा बोकेर सालचौरसम्म ल्याउन आफन्तलाई करिब घन्टा बढी समय लागेको थियो ।

कालिमाटी गाउँपालिका–७ घुईयाबारीदेखि नेपालगन्ज सडकमा वर्षाको भेलले बगाई ल्याएको ढुङ्गामाटो थुपारेका कारण नियमित गाडी चल्न सकेको छैन । गम्भीर बिरामी भएका घुईयाबारीका ५५ वर्षीय कर्णबहादुर बस्नेतलाई गाडी चल्ने स्थानसम्म स्ट्रेचरमा पु¥याउन आफन्तलाई हम्मे हम्मे भयो । अप्ठेरो सडकका कारण दुई घन्टामा गाडी चल्ने स्थानसम्म पुग्नेमा बिरामीका आफन्तलाई तीन घन्टा बढी समय लाग्यो । सडकको अवस्था जीर्ण भएका कारणले विभिन्न किसिमका समस्या भयो ।

वर्षाका कारण ठाँउ–ठाँउमा गएको पहिरो र भेलले चिराचिरा पर्दा जिल्लाका पालिका केन्द्रदेखि वडासम्म पुग्ने ग्रामीण सडक केही दिनदेखि अवरुद्ध भएका कारण दुर्गमका स्थानीय आफ्ना बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चल्ने स्थानसम्म पु¥याउन बाध्य भएका छन् । लामो समय सम्म स्ट्रेचरमा बोकेर गाडी चल्ने स्थान तथा अस्पतालसम्म पुर्याउनु पर्दा जिल्लाका दुर्गमका नागरिकलाई सास्ती भएको छ । हिड्ने गोरेटो बाटो समेत गतिलो नहुँदा बिरामीका आफन्तले विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । स्ट्रेचरमा बोकेर लामो समय हिड्नु पर्दा सुत्केरी व्यथाले च्यापेकी महिला बाटैमा सुत्केरी हुने अवस्था छ ।

अवरुद्ध सडकको पहिरो हटाउन सम्बन्धित निकायले गरेको बेवास्ताका कारण बिरामीलाई अस्पताल पुर्याउन सास्ती हुने गरेको निगालचुलाका पूर्णबहादुर घर्तीले बताउनुभयो । वर्षा नभएको समयमा बस्तीसम्मै सानाठुला गाडी नियमित चल्ने भएपनि पहिरोकै कारण सातादेखि गाडी चल्न नसक्दा बिरामीलाई स्ट्रेचर तथा डोकोमा बोकेर झन्डै दुई घन्टा हिड्न बाध्य हुनु परेको उहाँको भनाइ छ ।

बाढीको भेलले मुख्य तथा सहायक सडक चिराचिरा पर्दा नियमित गाडी चल्न नसक्दा बिरामीलाई उपचारका लागि सजिलै अस्पताल पुर्याउन नसकिएको र नजिकैको मेडिकलमा धेरै रकम खर्चेर उपचार गराउनु परेको सिद्धकुमाख गाउँपालिकाको दहकी हिमा बोहराले बताउनुभयो । हिउँदमा नियमित गाडी चल्ने गरेपनि वर्षाको समयमा स्थानीयले सधैँ यस्तै दुःख भोग्नु परेको उहाँको भनाइ छ ।

पालिकाको केन्द्रसम्म मुस्किलले गाडी आउने गरेको र वडाका सबै सडक अवरुद्ध भएकाले बिरामीलाई अस्पताल पुर्याउन अहिले पालिकाका दुर्गमबस्ती बासीलाई धेरै गाह्रो भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । ठुलो वर्षा भएमा पालिकाको केन्द्रसम्म पुग्ने सडक पनि अवरुद्ध हुने भएकाले राप्ती राजमार्गसम्म बिरामीलाई स्चेटरमा बोकेर हिड्नु पर्ने अवस्था आउने गरेको उहाँको भनाइ छ ।

कालीमाटी गाउँपालिका–७ काप्रेचौरका वडा अध्यक्ष मित्रलाल रिजालले वर्षाका कारण सडकको अवस्था दयनीय भएकाले बिरामी ओसारपसार मात्र नभई वडाबासी सबैलाई सरकारी कामकाज लगायत अन्य कामको लागि बाहिर जान समस्या भएको बताउनुभयो । वडासँग बजेट नभएकाले वर्षाले क्षति पुर्याएको सडक समयमै मर्मत गर्न नसकिएको उहाँको भनाइ छ ।

कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले पालिकाबाट जिल्लाको सदरमुकाम जाने थारमारे– रागेचौर–चौरजहारी सडकदेखि लिएर वडामा जाने सबै सडक अवरुद्ध भएकाले महत्वपुर्ण कामको लागि बाहिर आउजाउ गर्न कठिनाइ भएको बताउनुभयो । कोही बिरामी भयो भने अस्पताल पु¥याउन धेरै गाह्रो हुने गरेको उहाँको भनाइ छ ।

Phtoto20240712Salyan

अन्य

भिडियो