परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको भवनको छानो जेठ १३ गते राति आएको हावाहुरीले उडाएको एक हप्ता बितिसक्दा समेत मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।
हावाहुरीले विद्यालयको चार कोठे भवनको छानो उडाएको एक हप्ता बितिसक्दा समेत मर्मतसम्भार नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको विद्यालयका शिक्षक मानसिंह धामीले बताउनु भयो । विगतमा पनि विद्यालयले यस्तै समस्या झेलिरहेको भए पनि सरोकारवाला निकायले समयमै ध्यान नदिने गरेको उहाँको आरोप छ ।

हावाहुरी आएर विद्यालयको छानो उडाएपछि विद्यालयमा आएर पढ्न समस्या भएको विद्यार्थी रमेश सिंहले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालय भवनको छानो मर्मत गर्न कसैको ध्यान गएको छैन् । भवनको छानो नै नभएपछि टन्टलापुर घाममा विद्यालयमा बस्न सकिदैन् । पाँच दिनदेखि विद्यालय नै गएको छैन् ।’
विद्यालय भवनको छानो मर्मत नहुँदा चौरमा बसेर पढिरहेको विद्यार्थी सपना धामीले बताउनु भयो । ‘कहिले घाम लाग्छ । कहिले पानी पर्छ, हामीहरू समस्या छौँ,’ उहाँले भन्नु भयो, हावाहुरीले विद्यालयको एकतर्फी भागको सबै जस्तापाता उडाएपछि विद्यार्थीहरु खुला आकाशमुनी पठनपाठन गर्न बाध्य भएका छन् ।

हावाहुरीले विद्यालय भवनको छानाे उडाएपछि नगरपालिकाको शिक्षा तथा सामाजिक शाखालाई जानकारी गराइएको भए पनि हालसम्म छानाेको मर्मत हुन नसक्दा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले विद्यार्थीहरूलाई बाहिर चौरमा राखेर पढाउनु पर्ने बाध्यता छ । बहुकक्षा शिक्षणबाट जेनतेन विद्यालय चलाइरहेका छौँ । शिक्षा शाखाबाट अनुगमनमा आउनु भएको भए पनि विद्यालय भवनको मर्मत हुन सकेको छैन् ।’

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले विद्यालयको क्षति बारे अनुगमन गरेको र चाँडै भवनको मर्मत गरिने बताउनु भयो ।
एक कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।