INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवन मर्मत नहुँदा पठनपाठनमा समस्या

परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको भवनको छानो जेठ १३ गते राति आएको हावाहुरीले उडाएको एक हप्ता बितिसक्दा समेत मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।

हावाहुरीले विद्यालयको चार कोठे भवनको छानो उडाएको एक हप्ता बितिसक्दा समेत मर्मतसम्भार नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको विद्यालयका शिक्षक मानसिंह धामीले बताउनु भयो । विगतमा पनि विद्यालयले यस्तै समस्या झेलिरहेको भए पनि सरोकारवाला निकायले समयमै ध्यान नदिने गरेको उहाँको आरोप छ ।

photo20240603dadeldhura (3)

हावाहुरी आएर विद्यालयको छानो उडाएपछि विद्यालयमा आएर पढ्न समस्या भएको विद्यार्थी रमेश सिंहले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विद्यालय भवनको छानो मर्मत गर्न कसैको ध्यान गएको छैन् । भवनको छानो नै नभएपछि टन्टलापुर घाममा विद्यालयमा बस्न सकिदैन् । पाँच दिनदेखि विद्यालय नै गएको छैन् ।’

विद्यालय भवनको छानो मर्मत नहुँदा चौरमा बसेर पढिरहेको विद्यार्थी सपना धामीले बताउनु भयो । ‘कहिले घाम लाग्छ । कहिले पानी पर्छ, हामीहरू समस्या छौँ,’ उहाँले भन्नु भयो, हावाहुरीले विद्यालयको एकतर्फी भागको सबै जस्तापाता उडाएपछि विद्यार्थीहरु खुला आकाशमुनी पठनपाठन गर्न बाध्य भएका छन् ।

photo20240603dadeldhura (1)

हावाहुरीले विद्यालय भवनको छानाे उडाएपछि नगरपालिकाको शिक्षा तथा सामाजिक शाखालाई जानकारी गराइएको भए पनि हालसम्म छानाेको मर्मत हुन नसक्दा पठनपाठनमा समस्या भएको  विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अहिले विद्यार्थीहरूलाई बाहिर चौरमा राखेर पढाउनु पर्ने बाध्यता छ  । बहुकक्षा शिक्षणबाट जेनतेन विद्यालय चलाइरहेका छौँ । शिक्षा शाखाबाट अनुगमनमा आउनु भएको भए पनि विद्यालय भवनको मर्मत हुन सकेको छैन् ।’

photo20240603dadeldhura (2)

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले विद्यालयको क्षति बारे अनुगमन गरेको र चाँडै भवनको मर्मत गरिने बताउनु भयो ।

एक कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।

अन्य

भिडियो