आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी तिला गाउँपालिका–१ रारालिहिकी २७ वर्षीया सर्मा रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्ला शाखाका प्रमुख धनराज शाहीले पीडित महिलालाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नु भएको हो ।
२८ वर्षीय पति हरिबहादुर बुढाले पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरी घरेलु हिंसा गर्दै आएको पीडित महिलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पतिसँग ०६६ साल भदौ महिनामा विवाह भएको हो । एक छोरा र एक छोरी छन् । ०८० सालको विजयादशमीको साँझ कुटपिट गरी घर निकाला गरेका हुन् । एक महिनासम्म माइती घरमा बस्दै आए । ’
अहिले जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ६ कोठाभाडामा १० वर्षीया छोरीसहित बस्दै आएको र पतिसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०८० मङ्सिर ५ गते मुद्दा दर्ता गरेको उहाँले बताउनु भयो ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा वैशाख ७ गते निवेदन दिनुभएको थियो ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ वैशाख १८ गते बसेको बैठकको निर्णय अनुसार नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।
