INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी तिला गाउँपालिका–१  रारालिहिकी २७ वर्षीया सर्मा रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्ला शाखाका प्रमुख धनराज शाहीले पीडित महिलालाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नु भएको हो ।

२८ वर्षीय पति हरिबहादुर बुढाले पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरी घरेलु हिंसा गर्दै आएको पीडित महिलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पतिसँग ०६६ साल भदौ महिनामा विवाह भएको हो । एक छोरा र एक छोरी छन् । ०८० सालको विजयादशमीको साँझ कुटपिट गरी घर निकाला गरेका हुन् । एक महिनासम्म माइती घरमा बस्दै आए । ’

अहिले जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ६ कोठाभाडामा १० वर्षीया छोरीसहित बस्दै आएको र पतिसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०८० मङ्सिर ५ गते मुद्दा दर्ता गरेको उहाँले बताउनु भयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि  कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा वैशाख ७ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा  मानव अधिकार सहायता कक्षको ०८१ वैशाख १८ गते बसेको बैठकको निर्णय अनुसार नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240513Jumla

अन्य

भिडियो