नेपालगञ्जको भेरी अस्पतालमा रियजेन्ट केमिकलको अभाव हुँदा थाइराइडको बिरामीहरूलाई समस्या भएको छ । अस्पतालमा आएका थाइराइडको बिरामीहरू निजी प्रयोगशालामा महङ्गो शुल्क तिरेर उपचार गर्न बाध्य भएका छन् ।
भेरी अस्पताल प्रशासन तथा मेडिकल स्टोरको लापरवाहीले अस्पतालमा नियमित जाँच गराउन आउने थाइराइडका बिरामीहरू समस्यामा परेका हुन् । दैनिक १ सय ५० देखि २ सय जनाको थाइराइड जचाउन आउने गरेकाले बिरामीहरू मर्कामा परेको भेरी अस्पतालका प्याथोलोजिष्ट सविता विश्वकर्माले बताउनु भयो ।
थाइराइडको समस्या भएको शङ्का लागेकाले टिकट लिन जाँदा थाइराइडको जाँच बाहिर हुन्छ भित्र हुँदैन भन्ने अस्पतालले जानकारी गराएको डुडुवा गाउँपालिका-१ घर भई हाल नेपालगञ्जमा बस्दै आउनुभएकी बिरामी मोहिनी तिवारीले बताउनु भयो । भेरी अस्पताल बाहिर हेर्दा धेरै सुविधा सम्पन्न भएको देखिने तर भित्र कमिसन, चलखेल गर्न जान्ने र पहुँचवालाहरूको मात्र सेवा सुविधा रहेको उहाँको भनाई छ ।
भेरी अस्पतालका प्याथोलोजिष्ट सविता विश्वकर्माले अस्पातालमा चाहिने आवश्यक सामग्री सकिनु पूर्व नै आफूहरूले जानकारी गराइने उल्लेख गर्नुभयो । आफूहरूले नियमित फर्म भरेर प्रत्येक महिना माग गरिने उहाँले बताउनु भयो । केमिकल अभावका कारण चार/पाँच दिनदेखि थाइराइडको जाँच प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
भेरी अस्पतालले नेपालगञ्जको देउती सर्जिकल र हस्पिटेक इन्टरप्राइजेट प्रालि सप्लायर्सबाट सामान खरिद गर्दै आएको तर अस्पतालको लेखा शाखा र स्टोर शाखाको कमजोरीका कारण उपलब्ध गराउन ढिलासुस्ती भएको अस्पतालका स्टोर शाखाका दिनेश नेपालीले बताउनु भयो ।
थाइराइड जाँच गर्ने केमिकल सकिएकोले बिरामीहरूलाई सास्ती भोग्नु परेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पवनजङ्ग रायमाझीले बताउनु भयो । आफूहरूले उक्त केमिकल जतिसक्दो छिटो अस्पतालमा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

