लालबन्दी नगरपालिका–६ की २२ वर्षीया रञ्जना थापालाई सोही ठाउँकी ३९ वर्षीया सविना थापा, ३७ वर्षीया लक्ष्मी देवकोटा थापा, ३४ वर्षीया सपना थापा र ३७ वर्षीय धनबहादुर थापाले कुटपिट गरी गर्भपतन गराएको कसुरमा चैत २८ गते जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ ।
पीडितलाई आरोपितहरूले कुटपिट गर्दा गर्भपतन भएको ठहर गर्दै अदालतले जनही दुई महिनाको कैद सजायको पैmसला गरेको हो ।
न्यायाधीश कपिलमणी गौतमको इजलासले आरोपित धनबहादुर थापा र लक्ष्मी देवकोटा थापालाई कसुर ठहर गर्दै २÷२ महिना कैद, २ हजार रुपियाँ जरिवाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने गरी फैसला भएको जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितहरूले ०७९ साउन ५ गते कुटपिट गरी गर्भपतन गराएको भन्दै साउन ८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको थियो । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई भदौ १२ गते गिरफ्तार गरेको थियो ।
पीडित पक्षले साउन ११ गते जिल्ला अदालतमा अभियोग पत्र दायर गराएकोमा न्यायाधीश कपिलमणी गौतमको असोज ५ गतेको इजलासले आरोपितहरूलाई २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।
पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि ०७९ साउन १० गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका थिए ।