INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्यकर्मी र औषधि अभावमा सेवाग्राही समस्यामा

बडिमालिका नगरपालिका–६ कोर्ध सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी र औषधि अभाव हुँदा सेवाग्राही समस्यमा परेका छन् ।

सहरी स्वास्थ्य केन्द्रमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि दुई महिनादेखि अहेव र अनमी विदा तथा तालिममा गएदेखि स्वास्थ्य सेवा प्रभावित बन्दै गएको हो ।

अहेव लालसिहं मिजार परीक्षा दिन भनेर दुई महिनादेखि बिदामा रहनु भएको र अनमी हेमा शाही सदरमुकाम मार्तडीमा तालिम भन्दै स्वास्थ्य चौकी नगएपछि स्थानीयहरुले समस्या झेल्नु परेको हो ।

उपचारका लागि स्वास्थ्य चौकीमा जाँदा कार्यालय सहयोगी खडक बडुवालले उपचार गर्ने गरेको र स्वास्थ्य चौकीबाट प्रदान गरिने औषधिहरु समेत नपाउने गरेको स्थानीय नृप बडुवालले गुनासो गर्नु भयो ।

उहाले भन्नु भयो– दुई महिना भयो । ‘स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा आउदैनन् । सामान्य रुघा खोकी लाग्दा पनि दुई घण्टा हिडेर जडाङ्गा स्वास्थ्य चौकीमा जानु पर्ने बाध्यता छ ।’

उपचारका लागि स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीहरु नभेटिने र समान्य रुघाखोकी, ज्वोरो र सरकारले निशुल्क वितरण गर्ने औषधि समेत आफूहरुले नपाउने गरेको स्थानीय मन बडुवालले गुनसो गर्नु भयो ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत नागरिकले राज्यका तर्फबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरेको भए पनि त्यसको अनुभूति नागरिकहरुले गर्न नसकेको स्थानीय युवराज बडुवालले गुनसो गर्नु भयो ।

सहरी स्वास्थ्य केन्द्रमा औषधिदेखि अन्य उपकरणको समेत अभाव रहेकोले स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको कार्यालय सहयोगी खडक बडुवालले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘विरामी उपचार कक्षदेखि भौतिक संरचनाकोे अवस्था समेत दयालाग्दो छ । स्वास्थ्य केन्द्रको लागि भवन निर्माण गर्न सुरू गरेको दुई वितिसक्दा पनि पिलर मात्रै उठाएको बताए ।’

बडिमालिका नगरपालिकाका कार्यकारी रंगमल बिकले सहरी स्वास्थ्य केन्द्रमा कार्यरत अहेब लालसिंह मिजार परीक्षा दिनका लागि विदामा रहनु भएको र केही दिनदेखि स्वास्थ्य चौकीमा कार्यरत अनमी तालिमको लागि सरमुकाम जानु भएकोले सेवा प्रभावमा समस्या भएको बताउनु भयो ।

उहाँले केही दिन भित्रै स्वास्थ्य चौकीबाट प्रभाह गरिने सेवाहरु नियमित रुपमा सुचारु हुने बताउनु भयो ।

अन्य

भिडियो