नेपाली काँग्रेसका कार्यकर्ता डाक्नेश्वरी नगरपालिका–१ का ३२ वर्षीय जियाउल हकलाई अपहरण उद्योग गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले चैत ५ गते खडग नगरपालिका–११ बनौली घर भई हाल डाक्नेश्वरी नगरपालिका–१ बस्ने ५१ वर्षीय मलाबकस मियाँ र डाक्नेश्वरी नगरपालिका–१ का ५० वर्षीय रासलाल साहलाई साढे १ वर्ष कैद सजाय गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्गनामले अदालतमा दायर भएको ४ वर्षपछि ४२औं पेशीमा आरोपितहरूलाई अपहरण उद्योग गरेको कसूर ठहर गर्दै साढे १ वर्ष कैदका साथै जनही १५ हजार रुपियाँ जरिवाना भराउने फैसला गर्नुभएको छ । अदालतले दुबै कसूरदारबाट पीडितलाई जनही ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र जनही ६ सय रुपियाँ फौजदारी कसूर राहत पीडित कोषमा जम्मा गराउने फैसला भएको छ । हालसम्म फेला नपरेका भारतीय नागरिक भागवत झाको हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।
आरोपितहरूले ०७५ फागुन २५ गते अपहरण गर्न खोजेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७५ फागुन २६ गते उजुरी दिनुभएको थियो । प्रहरीले ०७५ चैत ४ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गरेको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भएको थियो ।
बोदे बर्साइन नगरपालिका–५ स्थित पसल बन्द गरी स.८ प ७४७० नम्बरको मोटरसाइकलबाट घर फर्कने क्रममा बाटोबाटै नकाब लगाएका ८/१० जनाले कुटपिट गर्दै कमिज र गम्छाले हात बाँधी मोटरसाइकलको बीचमा राखी डाक्नेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला सिमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारीहरू फरार भएको र आफ्नो ज्यान जोगिएको पीडितले बताउनु भएको छ ।
जियाउलले पाँच लाख रुपियाँ बजेट रहेको वडा नम्बर–१ स्थित मधुबनी बस्ती बिद्युतिकरण उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्दा गाउँले र अन्य राजनीतिक दलका कार्यकर्ताहरूसँग विवाद भएको थियो । जिल्ला अदालतको आदेशमा चैत २८ गते आरोपित रासलाल साढे एक लाख र मलाबकस एक लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।