घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ की २८ वर्षीया विनु चौधरीले इन्सेकको सहयोगमा फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ ।
पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।
पीडित र आरोपितबीच ०७४ फागुन २९ गते प्रेम विवाह भएको थियो । एक वर्ष पछि पति बैदेशिक रोजगारकालागि बहराईन जानुभयो । दुई वर्षसम्म बैदेशिक रोजगारमा बस्दा एक दुई पटक सामान्य खर्च पठाएको पीडितले बताउनु भयो ।
‘‘त्यसपछि पति म र मेरो छोरीसँग सम्पर्क विहिन हुनु भयो । घरमा सासु ससुराले खानलाउन नदिने, बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै विवाह दर्ता, नागरिकता र छोरीको जन्म दर्ता समेत बनाएको छैन ।,” पीडितले भन्नु भयो ।
आफू र छोरीलाई बिरामी हुँदा औषधि खर्च, खानेखर्च र लत्ताकपडा लगायतका आवश्यक खर्च माइती पक्षले व्यहोरेको पीडितले बताउनु भयो । घर परिवार सासु ससुरासँग खर्च माग्दा सहज रुपमा नदिने दिनु परे गालिगलोज गर्दै दिने गरेको र अन्तिम पटक ०७९ फागुन २ गते गालिगलोज गर्नुका साथै मानसिक यातना दिएको पीडितले बताउनु भयो ।
माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धिको मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगकालागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा फागुन २ गते निवेदन दिएको आधारमा समूहले फागुन ३ गते इन्सेकलाई सिफारिस गरेर पठाएको थियो भने पीडितले इन्सेकमा फागुन ४ गते निवेदन दिएको थियो ।
पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय र सहयोग पश्चात पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भयो ।