INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरी कुटपिट घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

बुढीगंगा नगरपालिका–५ नवाघरका ५० वर्षीय टेकेन्द्र सुनारमाथि जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्ध अयडीलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

नवरात्रीको दिन मन्दिरमा पुजा गरिरहेको समयमा आफूमाथि जातीय विभेद गरी कुटपिट गरको भन्दै त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष अयडी, मन्दिरका पुजारी ५२ वर्षीय रंग उपाध्याय र  सोही ठाउँका ३५ वर्षीय बिनोद अयडीका विरुद्ध पीडितले बडिमालिका प्रहरी चौकीमा उजुरी दिएपछि आरोपित मध्येका वडाध्यक्ष अयडीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएपी सुर्यबहादुर थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका आरोपित मन्दिरका पुजारी रंग उपाध्याय र बिनोद अयडी फरार रहेकाले उहाँहरुको जोखी कार्य भइरहेको समेत डिएसपी थापले बताउनु भयो ।

त्रिबेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा असोज ११ गते नवरात्रीको दिन पुजा गर्ने समयमा डुमले मन्दिर प्रवेश गरेर पुजा गर्ने भन्दै वडाध्यक्ष लगायत अन्य दुई जनाले निर्धात कुटपिट गरेपछि प्रहरीमा उजुरी दिएको पीडित सुनारले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा आरोपित वडाध्यक्ष लगायतका व्यक्तिहरुले डुम शब्द प्रयोग गर्दै आफूमाथि कुटपिट गरी ६० हजार रुपियाँ समेत लुटेर लगेको पीडित सुनारको आरोप छ ।

कुटपिटबाट आँखा, कान, नाक र पीठ्युमा चोट लागेर गम्भिर घाइते हुनु भएका सुनारको जिल्ला अस्पताल, बाजुरामा उपचार भइरहेको छ ।

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय, वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत तथा भेदभाव गरिने छैन भनेर समेत व्यवस्था गरेको छ ।

यसैगरी मुलकी अपराध संहिता २०७४ को दफा ७ को उपदफा १ मा जातीय भेदभाव तथा छुवाछुत गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो