INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षअघि काम गरेको पारिश्रमिक नपाउँदा कामदार मर्कामा

चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणमा गत वर्ष काम गरेका कामदारहरूले हालसम्म पनि पारिश्रमिक नपाउँदा मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयमा चौरजहारी नगरपालिकाबाट दुई कोठे भवन निर्माणका लागि १३ लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।

उक्त भवन निर्माण गर्नका लागि जिम्मा लिएका ठेकेदार महेन्द्र नेपालीसँग कामदारका तर्फबाट मोतीराम आचार्य र श्यामप्रसाद शर्माले भवन निर्माणको सम्झौता समेत गर्नुभएको थियो ।

कामदारहरू मोतीराम आचार्य, श्यामप्रसाद शर्मा, कृष्णबहादुर नेपाली, निराजन आचार्य, भिमलाल शर्मा, टेकबहादुर खत्री, रामलाल शर्मा, आश्मण शर्मा र झुपे खत्रीले काम गरेको कूल पारिश्रमिक रकम २ लाख १६ हजार रुपियाँ नपाएको उहाँहरूले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

ठेकेदारसँग बारम्बार पैसा माग्दा समेत नदिएको तर ठेकेदारले भने नगरपालिकाबाट गत वर्ष नै सबै बजेट भुक्तानी ल्याइसकेको पीडित कामदार रामलाल शर्माको आरोप छ ।

पारिश्रमिक नपाएको गुनासो गरेपछि २०७९ असारमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र कामदारबिच छलफल गराएकोमा ठेकेदार महेन्द्रले तत्काल पारिश्रमिक दिने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भयो ।

त्यस्तो प्रतिबद्धता जनाएपनि हालसम्म त्यसको कार्यान्वयन नभएको पीडित कामदारहरूको गुनासो रहेको छ ।

अन्य

भिडियो