अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २९ गतेको इजलासले कसुर ठहर गर्दै आठ वर्ष कैद र अपाङ्गता भएकी महिला भएकाले थप दुई वर्ष गरी १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।
पीडितलाई आरोपितले ०७६ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत म्याग्दीमा ०७६ माघ २८ गते जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते बेनी अस्पतालमा भएको थियो ।