विद्यालय शान्ति क्षेत्र हुन् भन्ने कार्यनीति विपरीत बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति छनौटको लागि निर्वाचन गर्न माघ १० गते देउराली उच्च मावि बर्दिबास बन्द गरिएको छ ।
खानेपानी उपभोक्ता समितिको कार्यसमिति छनौटको लागि विद्यालय परिसरमा मतदान केन्द्र बनाइएपछि विद्यालयको सम्पूर्ण पठनपाठन अवरुद्ध भई पठनपाठन पूर्ण रूपमा प्रभावित भएको हो ।
उपभोक्ता समिति निर्वाचनको चहलपहलले विद्यालय प्राङ्गण मतदान केन्द्रमा परिणत भएपछि विद्यालयमा अध्ययनरत एक हजार विद्यार्थीको एक दिनको पढाइ प्रभावित भएको विद्यालयका समाजिक शिक्षक सुरेशप्रसाद रिसालले बताए । उनले भने-‘बालबालिकाको पढाइ बन्द गरेर विद्यालयमा चुनाव गराउनु राम्रो होइन् ।’
जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय बन्द गराएर निर्वाचन नगराउन पहिले नै निर्देशन दिएको खुलेको छ । तर, स्थानीय राजनीतिक दल, निर्वाचन समिति, प्रहरी प्रशासनले विद्यालय बन्द गराएर विद्यालयमा निर्वाचन गराएका हुन् ।
निर्वाचन गराउन र्सार्वजनिक स्थानको व्यवस्था गर्नु पर्नेमा निर्वाचन समितिले त्यसमा ध्यान नपुर्याएको कारण विद्यालयका विद्यार्थीहरूको पढाइ बन्द भएकोमा स्थानीय ज्येष्ठ नागरिक सेतुप्रसाद दाहालले आपत्ति जनाएका छन् । उनले भने-‘निर्वाचनको लागि र्सार्वजनिक स्थानको व्यवस्थापन गर्नु पर्छ ।’
बर्दिबास खानेपानी उपभोक्ता समितिमा ३ हजार ३ सयभन्दा बढी सदस्य भएकाले सुरक्षाको दृष्टिकोणले विद्यालयको परिसरलाई नै मतदान स्थल राखिएको निर्वाचन समितिका सदस्य महेश झाले बताए ।
‘विद्यालय बन्द हुनु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो ।’-अध्यक्ष पदका उमेदवार भोला खड्काले भने-‘तर, राजनीतिक दल, प्रहरी प्रशासन र निर्वाचन समितिले अरु स्थानमा चुनाव गराउँदा सुरक्षा चुनौति बढ्ने औँल्याए । त्यसलाई मध्य नजर गरेर विद्यालयलाई नै मतदान स्थल बनाइयो ।’ विद्यालयमा चारै तिर पर्खाल भएकोले सुरक्षा दिन र निर्वाचन गराउन विद्यालयलाई रोजिएको निर्वाचन समितिले जनाएको छ ।
एक दिनको पढाइ शुक्रबार विहानै देखि अतिरक्त कक्षा सञ्चालन गरेर पूरा गर्ने विद्यालयका प्रधानाध्यापक केदारप्रसाद कोइरालाले बताए ।
‘विद्यालय शान्ति क्षेत्र हो । विद्यालयमा हात हतियार सहित विना कारण प्रहरी पस्न पाउँदैनन् ।’-जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले भने-‘ मैले प्रअलाई विद्यालयमा चुनाव नगराउनु भनेको थिएँ । तर, राजनीतिक दलको दबावमा विद्यालयका चुनाव भएको बुझेको छु ।’ राजनीतिक दल, प्रहरी प्रशासन, समाजका अगुवाले विद्यालयलाई शान्ति क्षेत्र बनाउन सहयोग गर्नु पर्ने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।