INSEC Online

📅 २०८३ जेष्ठ २१

उपभोक्ता समितिको निर्वाचनका लागि विद्यालय बन्द, पठनपाठन प्रभावित

विद्यालय शान्ति क्षेत्र हुन् भन्ने कार्यनीति विपरीत बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति छनौटको लागि निर्वाचन गर्न माघ १० गते देउराली उच्च मावि  बर्दिबास बन्द गरिएको छ ।

खानेपानी उपभोक्ता समितिको कार्यसमिति छनौटको लागि विद्यालय परिसरमा मतदान केन्द्र बनाइएपछि विद्यालयको सम्पूर्ण पठनपाठन अवरुद्ध भई पठनपाठन पूर्ण रूपमा प्रभावित भएको हो ।

उपभोक्ता समिति निर्वाचनको चहलपहलले विद्यालय प्राङ्गण मतदान केन्द्रमा परिणत भएपछि विद्यालयमा अध्ययनरत एक हजार विद्यार्थीको एक दिनको पढाइ प्रभावित भएको विद्यालयका समाजिक शिक्षक सुरेशप्रसाद रिसालले बताए । उनले भने-‘बालबालिकाको पढाइ बन्द गरेर विद्यालयमा चुनाव गराउनु राम्रो होइन् ।’

जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय बन्द गराएर निर्वाचन नगराउन पहिले नै निर्देशन दिएको खुलेको छ । तर, स्थानीय राजनीतिक दल, निर्वाचन समिति, प्रहरी प्रशासनले विद्यालय बन्द गराएर विद्यालयमा निर्वाचन गराएका हुन् ।

निर्वाचन गराउन र्सार्वजनिक स्थानको व्यवस्था गर्नु पर्नेमा निर्वाचन समितिले त्यसमा ध्यान नपुर्‍याएको कारण विद्यालयका विद्यार्थीहरूको पढाइ बन्द भएकोमा स्थानीय ज्येष्ठ नागरिक सेतुप्रसाद दाहालले आपत्ति जनाएका छन् । उनले भने-‘निर्वाचनको लागि र्सार्वजनिक स्थानको व्यवस्थापन गर्नु पर्छ ।’

बर्दिबास खानेपानी उपभोक्ता समितिमा ३ हजार ३ सयभन्दा बढी सदस्य भएकाले सुरक्षाको दृष्टिकोणले विद्यालयको परिसरलाई नै मतदान स्थल राखिएको निर्वाचन समितिका सदस्य महेश झाले बताए ।

‘विद्यालय बन्द हुनु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो ।’-अध्यक्ष पदका उमेदवार भोला खड्काले भने-‘तर, राजनीतिक दल, प्रहरी प्रशासन र निर्वाचन समितिले अरु स्थानमा चुनाव गराउँदा सुरक्षा चुनौति बढ्ने औँल्याए । त्यसलाई मध्य नजर गरेर विद्यालयलाई नै मतदान स्थल बनाइयो ।’ विद्यालयमा चारै तिर पर्खाल भएकोले सुरक्षा दिन र निर्वाचन गराउन विद्यालयलाई रोजिएको निर्वाचन समितिले जनाएको छ ।

एक दिनको पढाइ शुक्रबार विहानै देखि अतिरक्त कक्षा सञ्चालन गरेर पूरा गर्ने विद्यालयका प्रधानाध्यापक केदारप्रसाद कोइरालाले बताए ।

‘विद्यालय शान्ति क्षेत्र हो । विद्यालयमा हात हतियार सहित विना कारण प्रहरी पस्न पाउँदैनन् ।’-जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले भने-‘ मैले प्रअलाई विद्यालयमा चुनाव नगराउनु भनेको थिएँ  । तर, राजनीतिक दलको दबावमा विद्यालयका चुनाव भएको बुझेको छु ।’ राजनीतिक दल, प्रहरी प्रशासन, समाजका अगुवाले विद्यालयलाई शान्ति क्षेत्र बनाउन सहयोग गर्नु पर्ने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।

अन्य

भिडियो