INSEC Online

📅 २०८३ जेष्ठ २१

करारका कर्मचारीले आलोपालो सेवा प्रभाव गर्दा सेवाग्राही समस्यमा

जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा पाँच ओटा वडाको सेवा एक जना वडासचिवले मात्र प्रवाह गर्नुपर्ने अवस्था रहेका कारण सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् ।

भोटखोलामा एक जना वडासचिव मात्र हुँदा समयमा सेवा नपाएको भोटखोला गाउँपालिका–२ का ३२ वर्षीय सुवास भोटेले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो “गाउँपालिका पाँच ओटा वडा मिलेर बनेको छ, वडासचिव भने एक जना मात्रै हुनुहुन्छ, जसका कारण हामीले सेवा पाउन सास्ती हुनुका साथै लामोसमय पर्खिनु पर्छ ” एक जना वडासचिवले पाँच ओटै वडाको सेवा प्रवाह गर्न गर्नुपर्दा समस्या हुने गरेको गुनासो स्थानीयको छ ।

दुर्गम र विकट गाउँपालिका भएकाले दरबन्दी अनुसारका कर्मचारी कार्य क्षेत्रमा बस्दैनन् । गाउँपालिका २७ जना कर्मचारीको दरबन्दी भएपनि करारमा नियुक्त पाँच जना कर्मचारीले आलोपालो गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिका कार्यालयले जनाएको छ ।

भौगोलिक रूपमा अति नै विकट भएपनि कर्मचारी नबस्दा एउटै सचिवले पाँच ओटा वडाको काम गर्नु परेको वडासचिव दावा लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । भोटखोला गाउँपालिकामा ६ हजार ५ सय ७६ जनाको वसोवास रहेको छ ।

सडक सञ्जाल समेत नपुगेको भोटखोलाकाको पाँच ओटै वडा हिँडेर पुग्नु पर्न बाध्यता रहेको सचिव लामाले बताउनु भयो । भौगोलिक विकटताका कारण कर्मचारी हिडेर समयमा कार्यालय नपुग्ने हुँदा सेवा प्रवाहमा समस्या भएको वडासचिव लामाले बताउनु भयो ।

स्थायी कर्मचारी नबस्ने र करारका कर्मचारीले आलोपालो सेवा प्रवाह गर्दा सोचे जस्तो काम गर्न नसकेको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताउनु भयो ।

उहाँले सरकारले गाउँगाउँमा सिंह दरबार भनेपनि कर्मचारी सदरमुकाम केन्द्रीत हुँदा सेवाग्राहीले सास्ती खप्नु परेको बताउनु भयो ।

भोटखोला क्षेत्र भौगोलिक विकटता भएकाले कमचारी जान नमान्ने गाउँपालिका अध्यक्ष तेम्बा भोटेले गुनासो गर्नुभयो । सदरमुकाम खाँदबारीदेखि ३० कोष  टाढा रहेको भोटखोला गाउँपालिका चीन सँग जोडिएको छ ।

 

अन्य

भिडियो