INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको क्रममा कैदीको मृत्यु भएको घटना छानबिन गर्न माग


केन्द्रीय कारागारका कैदी ६३ वर्षीय रामलखन जैसवालको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको घटनाको निष्पक्ष  छानबिन गर्न मृतककी छोरी रश्मिले असोज ६ गते माग गर्नु भएको छ ।

मृतककी छोरी रश्मिले आफ्ना बुवाको टाउको तथा घाँटीमा चोट लागेको र शरीरमा रगत देखिएकोले मृत्यु शङ्कास्पद भएको र स्वभाविक मृत्यु नभएको भन्दै हत्या भएको दावी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको हो ।

तर, केन्द्रीय कारागार, सुन्धाराका जेलर लक्ष्मी बाँस्कोटाले भने मृतक लामो समयदेखि पार्किन्सन रोगको बिरामी रहेको र असोज ३ गते राति ९ बजे स्वास फेर्न मुस्किल भएपछि वीर अस्पताल पुर्याएको एक घण्टापछि मृत्यु भएको दावी गर्नुभयो ।

उहाँले भन्नु भयो – ‘जैसवाललाई स्वास फेर्न मुस्किल भएपछि जेल भित्रकै भाइहरुले बाहिर निकालेका हुन । हाम्रो अस्पतालका डाक्टरले हेर्नुभयो । अलि जटिल देखिएपछि वीर अस्पताल पुर्याईएको हो ।’ बाँस्कोटाले भन्नुभयो, ’हामिसँग उहाँलाई बाहिर निकाल्दाको सीसीटिभी फुटेज छ । त्यसमा पनि स्वास फेर्न कठिन भएको देख्न सकिन्छ ।’

यसैबीच वीर अस्पताल प्रशासनले पनि आजै एक प्रेस विज्ञप्ति प्रकाशन गरी जैसवालको मृत्यु सम्बन्धमा सञ्चारमाध्यममा आए जस्तो कुनै गतिविधि नभएको र उपचारको लागि अस्पताल ल्याउँदै मृत्यु भएकोले कोरोना परीक्षणका लागि रिपोर्ट नआउँदासम्म शव गृहमा राखिएको जनाएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।

बुवाको शवको भिडियो बनाएको भन्दै प्रहरीले आफूलाई लाठी प्रहार गर्दा हात भाँचिएको र वीर अस्पतालमा उपचार भइरहेको रश्मिले जानकारी दिनु भयो ।

अन्य

भिडियो