केन्द्रीय कारागारका कैदी ६३ वर्षीय रामलखन जैसवालको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न मृतककी छोरी रश्मिले असोज ६ गते माग गर्नु भएको छ ।
मृतककी छोरी रश्मिले आफ्ना बुवाको टाउको तथा घाँटीमा चोट लागेको र शरीरमा रगत देखिएकोले मृत्यु शङ्कास्पद भएको र स्वभाविक मृत्यु नभएको भन्दै हत्या भएको दावी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको हो ।
तर, केन्द्रीय कारागार, सुन्धाराका जेलर लक्ष्मी बाँस्कोटाले भने मृतक लामो समयदेखि पार्किन्सन रोगको बिरामी रहेको र असोज ३ गते राति ९ बजे स्वास फेर्न मुस्किल भएपछि वीर अस्पताल पुर्याएको एक घण्टापछि मृत्यु भएको दावी गर्नुभयो ।
उहाँले भन्नु भयो – ‘जैसवाललाई स्वास फेर्न मुस्किल भएपछि जेल भित्रकै भाइहरुले बाहिर निकालेका हुन । हाम्रो अस्पतालका डाक्टरले हेर्नुभयो । अलि जटिल देखिएपछि वीर अस्पताल पुर्याईएको हो ।’ बाँस्कोटाले भन्नुभयो, ’हामिसँग उहाँलाई बाहिर निकाल्दाको सीसीटिभी फुटेज छ । त्यसमा पनि स्वास फेर्न कठिन भएको देख्न सकिन्छ ।’
यसैबीच वीर अस्पताल प्रशासनले पनि आजै एक प्रेस विज्ञप्ति प्रकाशन गरी जैसवालको मृत्यु सम्बन्धमा सञ्चारमाध्यममा आए जस्तो कुनै गतिविधि नभएको र उपचारको लागि अस्पताल ल्याउँदै मृत्यु भएकोले कोरोना परीक्षणका लागि रिपोर्ट नआउँदासम्म शव गृहमा राखिएको जनाएको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।
बुवाको शवको भिडियो बनाएको भन्दै प्रहरीले आफूलाई लाठी प्रहार गर्दा हात भाँचिएको र वीर अस्पतालमा उपचार भइरहेको रश्मिले जानकारी दिनु भयो ।