१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौ“ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलगायत संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मक हुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा अझै पुगेको छैन । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा केही सुधार भएको छ । यति हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन् त्यो भने भयावह नै छ । मानव अधिकार अनुगमन र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१९ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा वृद्धि भएको जनाएको छ । यो अध्ययन प्रतिवेदन मुलुकका सबै जिल्लाबाट प्राप्त घटनाहरूलाई इन्सेकले अभिलेखित गरेको तथ्यतथ्याङ्कहरूको आधारमा तयार पारिएको हो । प्रहरी वा अन्य निकायमा मिलापत्र भएका वा कानुनी उपचार प्राप्त भई टुङ्गिएका घटनाहरू भने यहाँ प्रस्तुत तथ्याङ्कमा समावेश गरिएको छैन ।