INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा  राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्ती विरूद्ध इलाका प्रहरी  कार्यालय भालुवाङमा फागुन २२ गते उजुरी दर्ता गरिएको छ ।

पीडितकी आमाको मृत्यु भइसकेको र बुवाले दिएको उजुरी प्रहरीले नलिएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ दाङ, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नेपाल महिला सामुदायिक सेवा केन्द्र, सक्षम महिला सामुदायिक संस्था र लैंगिक हिंसा पुनर्स्थापना केन्द्रले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दर्ता गरेका हुन् ।

कक्षा ६ मा अध्ययनरत बालिकालाई विज्ञान विषयका  शिक्षक घर्तीले कक्षा कोठामै यौन दुर्व्यवहार गरेको र घटनाबारे कसैलाई भने फेल गराइदिने धम्की दिने गरेको पीडितले बताउनु भयो  । आरोपितले अन्तिम पटक फागुन १४ गते दुर्व्यवहार गरेको र घटनाबारे  विद्यालयमा अन्य शिक्षकलाई जानकारी गराउदाँ कार्यालयमा बोलाएर कसैलाइ नभन्न आग्रह गरेपछि घटनाबारे बुवालाई जानकारी गराउनु भएको थियो ।

पीडितका बुवाले फागुन १५ गते इलाका प्रहरी कार्यालय  भालुवाङमा उजुरी  दिन जाँदा प्रहरीले रित नपुगेको भन्दै दर्ता नगरी फिर्ता पठाएको थियो  ।

इलाका प्रहरी कार्यालयका   इन्स्पेक्टर गंगाबहादुर सारूले घटनाको अनुसन्धान अघि बढाइने बताउनु भयो । बालिकालाई  सेफ हाउसमा राखिएको र  आरोपितको खोजी भइरहेको इन्स्पेक्टर सारूले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छैन ।


अन्य

भिडियो