१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्ती विरूद्ध इलाका प्रहरी कार्यालय भालुवाङमा फागुन २२ गते उजुरी दर्ता गरिएको छ ।
पीडितकी आमाको मृत्यु भइसकेको र बुवाले दिएको उजुरी प्रहरीले नलिएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ दाङ, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नेपाल महिला सामुदायिक सेवा केन्द्र, सक्षम महिला सामुदायिक संस्था र लैंगिक हिंसा पुनर्स्थापना केन्द्रले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दर्ता गरेका हुन् ।
कक्षा ६ मा अध्ययनरत बालिकालाई विज्ञान विषयका शिक्षक घर्तीले कक्षा कोठामै यौन दुर्व्यवहार गरेको र घटनाबारे कसैलाई भने फेल गराइदिने धम्की दिने गरेको पीडितले बताउनु भयो । आरोपितले अन्तिम पटक फागुन १४ गते दुर्व्यवहार गरेको र घटनाबारे विद्यालयमा अन्य शिक्षकलाई जानकारी गराउदाँ कार्यालयमा बोलाएर कसैलाइ नभन्न आग्रह गरेपछि घटनाबारे बुवालाई जानकारी गराउनु भएको थियो ।
पीडितका बुवाले फागुन १५ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिन जाँदा प्रहरीले रित नपुगेको भन्दै दर्ता नगरी फिर्ता पठाएको थियो ।
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गंगाबहादुर सारूले घटनाको अनुसन्धान अघि बढाइने बताउनु भयो । बालिकालाई सेफ हाउसमा राखिएको र आरोपितको खोजी भइरहेको इन्स्पेक्टर सारूले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छैन ।