३३ वर्षीया हिमा श्रेष्ठको न्यायका लागि इन्सेक ललितपुरको पहलमा कुटपिट घटनाका आरोपित इन्सपेक्टर देवीप्रसाद पौडेल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । श्रेष्ठले ०७६ फागुन १९ गते इन्सेक ललितपुरलाई न्यायका लागि पहल गरिदिन आग्रह गरेपछि इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेको पहलमा फागुन १९ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।
आयोगको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महाशाखाका उपनिर्देशक मञ्जु खतिवडालाई भेटेर उजुरी दर्ता गरिएको हो । उजुरी निवेदन दर्ता नं. १६७० मा रहेको उल्लेख गर्दै उपनिर्देशक खतिवडाले सामाजिक न्याय र मानव अधिकारका लागि इन्सेकले गरेको पहलका लागि आभार प्रकट गर्दै आयोगको क्षेत्राधिकार भित्र रहेर दोषिमाथि कारवाही प्रक्रिया अघि बढाउने बताउनु भयो । उहाँले सञ्चार माध्यममा प्रकाशित, प्रसारित सामाग्रीका आधारमा प्रहरीसँग कुरा भइरहेकोमा इन्सेकको पहलमा पीडितलाई उपस्थित गराएर उजुरी दर्ता भएकोले घटनाको अनुसन्धान र आरोपितलाई कावारहीका साथै पीडितलाई न्याय दिन मद्दत पुग्ने आश्वासन दिनुभयो ।

सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका–९, जलजला घर भइ काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने श्रेष्ठले १० महिनाको बच्चा पिठ्युँमा च्यापेर र ३३ महिनाको बच्चा डोर्याएर हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुंगमती, भैसपाटीका इन्सपेक्टर पौडेलले २०७६ फागुन १५ गते दिउँसो श्रेष्ठमाथि दुव्र्यवहारका साथै लाठी प्रहार गरी कुटपिट गरेको आरोप छ । महिलामाथि दुव्र्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसरका एसपी दुर्गा सिंहको संयोजकत्वमा छानविन समिति गठन भएको छ भने समितिले फागुन २० गते साँझसम्ममा प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।
पीडित श्रेष्ठ र रुपा घिसिङलाई ललितपुर महानगरपालिका–२५, भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्री बिरामी भएकोले भेट्न उनको घरमा जान माला साहले बोलाएर गएको श्रेष्ठले बताउनु भयो । उनीहरूले अभद्र व्यवहार तथा हुल उज्जत गरेको आरोपमा प्रहरीले लाठी प्रहार गरेको प्रहरीको भनाइ छ ।