सबैला नपा–९ का १३ वर्षीय सुरज महतो र १० वर्षीय बिल्टु मुखियालाई किराना पसलबाट १ सय रुपियाँ चोरेको आरोपमा सोही वडाका वडा अध्यक्ष सुशिलकुमार रायले ८ घण्टा थुनेर कुटपिट गरेको पीडित परिवारले आरोप लगाउनु भएको छ ।

वडा अध्यक्षको कुटपिटबाट सुरज र बिल्टुको नाक, छाती र ढाडमा गम्भिर चोट लागेको छ । बालक सुरजको अवस्था सामान्य रहेपनि अर्का बालक बिल्टुको नाक र मुखबाट रगत आएकाले तीन दिनदेखि जनकपुरधामको समर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
माघ २३ गते विहान ११ बजेतिर शिवशङ्कर महतोको किराना पसलबाट १ सय रुपियाँ लिएको पीडित बालक बिल्टु मुखियाले स्वीकार गरेपनि कुटपिट गरेको बताउनु भएको छ । बालक बिल्टुले भन्नु भयो,–‘पैसा चोर्ने क्रममा हामी दुबै जनालाई किराना पसल संचालक महतोले नियन्त्रणमा लिए, सय रुपियाँ आफूहरुसँग खोसेर कुटपिट गर्दै वडा कार्यालयमा लगेपछि वडा अध्यक्ष राय र स्थानीय बीरेन्द्र रायले समेत कुटपिट गर्नु भयो ।’
‘वडा अध्यक्ष रायले छोरालाई बाँधेर कुटपिट गरेको बिल्टुका बुवा तेजवा मुखियाले बताउनु भएको छ । दुबै बालकलाई बिहान ११ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेको वुवा तेजवा मुखियाको आरोप छ ।
यता, वडा अध्यक्ष रायका अनुसार किराना पसले महतोले बालकलाई बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ः०० बजे आफूलाई फोन गरेको थियो । किराना पसले र बालकका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गराएको उनले बताउनु भएको छ । चोरिएको रकम मुखियालाई तिर्न लगाएर दुबै बालकलाई घर पठाएको वडा अध्यक्ष रायले जानकारी दिनु भएको छ ।
पछि बिल्टु गम्भिर विरामी भएपछि आफुले नै उपचारको लागि अस्पताल लानु भनेर अभिभावकलाई सल्लाह दिएको तर आफुलाई राजनीतिक प्रतिशोधले फसाउन खोजेको वडा अध्यक्ष रायले प्रतिक्रिया दिनु भएको छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय सवैलामा माघ २३ गते राति नै मौखिक रुपमा जानकारी गराए पनि छोरा गम्भिर विरामी परेपछि बिचल्लीत भएकाले अहिलेसम्म प्रहरी कार्यालयमा लिखित उजुरी नदिएको विल्टुका बुवा तेजवा मुखियाले बताउनु भएको छ । छोरालाई सञ्चो भएपछि कानुनी रुपमा अगाडी बढ्ने वहाँले बताउनु भएको छ ।