INSEC Online

प्रहरीद्वारा गोली प्रहार गरी तीन जना गिरफ्तार

कैलाली जिल्ला टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी जिल्ला राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैयालाई प्रहरीले ०८३ असार ६ गते गोली प्रहार गरी बालकुमारीबाट गिरफ्तार गरेको छ । प्रहरीले उनीहरुलाई लागु औषध कारोबारीको आरोपमा गिरफ्तार गरेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उनीहरूलाई गिरफ्तार गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनीसहित तीन जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका किशोरप्रसाद ओझैयालाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रवक्ता रेग्मीले बताउनुभयो । यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र १ लाख ४ हजार रुपियाँ जरिवाना भुक्तान गरी २०८२ पुस १७ गते नक्खु कारागारबाट रिहा भएको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

रासस

अन्य

भिडियो