दुईसातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको उक्त एक्सरे सेवा फागुन ६ गतेबाट पुुर्ण रुपमा सञ्चालनमा आएको हो ।
यस अघि अस्पतालमा पुगेका स्थानीय नागरिक रित्तो हातमा फर्कनु परेको भए पनि जिल्ला बाहिरबाट एक्सरे मेसिन हुम्ल आइ पुगेपछि यहाँका सेवाग्राहीले सहजै रुपमा सेवा पाएका हुन् ।
गत माघ २९ गते इन्सेक अनलाइनमा `जिल्ला अस्पतालमा एक सातादेखि एक्सरे सेवा ठप्प, सिटामोलसमेत अभाव´ भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि जिल्ला अस्पताल हुम्लाले तत्काल एक्सरे मेसिनको बन्दबस्तो गरेर सेवा प्रवाहमा सहज बनाएको जिल्ला अस्पताल हुम्लाका निमित्त कार्यालय प्रमुख चिकित्सक भिम बुढाले बताउनु भयो ।
उहाँका अनुसार दुई हप्ता अघि एक्सरेको क्यासेट बिग्रिएपछि करिब दुईसाता सेवाग्राही एक्सरे सेवाबाट बञ्चित भएका थिए ।
दैनिक १० देखि १५ जना सेवाग्राही एक्सरे सेवा नहुँदा फर्किनु परेको स्थानीयले गुनासो गरेका थिए । पुरानो एक्सरे मर्मत गर्न तीनदेखि चार लाख रुपियाँसम्म खर्च लाग्ने भएकाले जिल्ला अस्पताल हुम्लाले उक्त मेसिनका लागि निक्स साइमन्स इन्स्टिच्युट ललितपुरलाई अनुरोध गरेको थियो ।
अस्पतालको अनुरोधपछि उक्त इन्स्टिच्युटले २ लाख १५ हजार रुपियाँ बराबरको एक्सरे निशुल्क रुपमा सहयोग गरेको चिकित्सक बुढाले बताउनु भयाे।