सिद्धिचरण नगरपालिका–४ चार्खुकी ४९ वर्षीया एकल महिला रत्नकुमारी कटुवालको हत्यासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।
रत्नकुमारी कटुवालको ०८२ असोज २७ गते शङ्कास्पद अवस्थामा घरमै शव फेला परेको घटनासहित अरू दुई जनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको हो ।
सामूहिक रूपमा रत्नकुमारीको बञ्चरो प्रहार गरी हत्या गरेर गरगहना लुटेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चार जनालाई गिरफ्तार गरी पुस २० गते सार्वजनिक गरेको हो ।
रत्नकुमारीको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन भनिने सङ्गम राई, चिशंखुगढी गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी गाउँपालिका–८ का ३२ वर्षीय दोर्जे भनिने अशोक भुजेललाई प्रहरीले पुस २० गते सार्वजनिक गरेको हो ।
चिशंखुगढी गाउँपालिका–४ का ३० वर्षीय विनोद राईलाई ०८२ पुस १८ गते दियालेबाट र अरू तीन जनालाई प्रहरीले पुस १९ गते रातामाटेबाट गिरफ्तार गरी पुस २० गते सार्वजनिक गरेको हो ।
घरमा एक्लै बस्दै आएकी रत्नीकुमारी कटुवालको शव फेलापरेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले मुचुल्का उठाएर असोज २८ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेको थियो । सोही समूहले ०८२ पुस १५ गते राति चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल संञ्चालन गरी बसेका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीयम पत्नी रत्नमाया थापा मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख रुपियाँ नगद तथा दुई तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेर सो समूह फरार भएको थियो ।
जिल्लामा श्रृखलाबद्ध हत्याका घटनापछि केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरी घटनामा संलग्नहरूलाई गिरफ्तारपछि सार्वजनिक गरेको हो ।