INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले लोलाई दोषी ठहर गरेको फैसला माघ १५ गते लिखित प्रतिवेदन उतारेको हो । पीडित बालिकालाई लोले गत जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ११ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा जेठ ११ गते नै गरिएको थियो ।

न्यायाधीश डा. रिजालको इजलासले उक्त मुद्दाको विस्तृत पैmसला लेख्दै मुलुकी ऐन जबरजस्ती करणी महल बमोजिम आठ वर्ष कैद सजाय तोकेको हो ।

अदालतले गरेको फैसलामा बागमती गाउँपालिका–४ आश्राङ, स्याउलेका लो र बालिकाबीच प्रेम सम्बन्ध रहेको र दुवैको सहमतिमा जेठ ५ गते यौन सम्पर्क गरेको भएपनि १४ वर्ष मुनिकी बालिकासँगको यौन सम्पर्क भएकाले उक्त सजाय ठहर हुने भन्दै कैद सजाय तोकेको उल्लेख छ ।

फैसलाको निचोडमा दुवै जना दुर्गम गाउँमा बस्ने र कानुनी ज्ञानको अभावका कारणले घटना घटेको हुन सक्ने भएपनि फौजदारी न्यायको क्षेत्रमा कानुनको अनभिज्ञता क्षम्य नहुने सिद्धान्त छ भनिएको छ ।

अदालतले नयाँ कानुन निर्माण गर्दा सर्वसाधारणलाई जानकारी हुने गरी प्रचार प्रसार गर्न र प्रचलित कानुनी ज्ञान एवम् शिक्षालाई प्रभावकारीरूपमा ग्रामीण तहसम्म पुर्‍याउन सरकारलाई रायसमेत दिएको छ ।

कानुनको पुस्तक एवम् सामग्री प्रभावकारी रूपमा विक्री वितरण र खरिद गर्न नसक्नेलाई निःशुल्क उपलब्ध गराउन सङ्घीय सरकार, सङ्घीय संसद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सबै प्रदेश सरकार, प्रदेश संसद, स्थानीय सरकारसमेतलाई राय दिइएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार विकसित मुलुकमा कानुनको तर्जुमा गर्दा जनस्तरमा छलफल र प्रचार प्रसार व्यापाक हुन्छ ।

अन्य

भिडियो