INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा प्रहरीका हतियार लुट्ने आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा काठमाण्डौको प्रहरी कार्यालयबाट लुटिएका दुई ओटा हतियार र २० राउण्ड गोलीसहित प्रहरीले तीनजनालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट ०८२ भदौ २३ र २४ गते लुटिएको हतियार र गोलीसहित दमक नगरपालिका–६, प्रशान्ती टोलका  २९ वर्षीय विश्व लिङ्देन , दमक नगरपालिका–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली गाउँपालिका –४ आइतवारेका ३० वर्षीय पवन हाङसुङ्वालाई प्रहरीले गिरफ्तार गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक नगरपालिका–९ स्थायी घर भइ दमक नगरपालिका– ८ मा डेरामा बस्दै आएका सरोज पुरीलाई मङ्सिर ८ गते ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल एक थान र सोको गोली १५ राउण्डसहित फेला पारी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएको थियो ।

पुरीलाई इलाका प्रहरी कार्यालय, दमकमा ल्याएर सोधपुछ गर्दा उनले दमक नगरपालिका–६ प्रशान्ती टोलका कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देनलाई अर्को हतियार राख्न दिएको बयान दिएका थिए ।

त्यसको आधारमा लिङ्देनलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली गाउँपालिका–४ का पवन हाङसुङ्वालाई २० हजार रुपियाँमा सो हतियार बेचेको बताएका थिए ।

लिङ्देनको बयानका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, काँकडभिट्टाबाट इन्स्पेक्टर कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको संयुक्त टोलीले बारीमा खाल्डो खनेर प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा ठूलो चापे टाईप ५४ चाइनिज पेस्तोल एक थान, सोको पाँच राउण्ड गोली लोड गरी राखेको अवस्थामा फेला पारेको थियो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो