इलाका प्रशासन कार्यालय लमहीमा कार्यालय प्रमुख नहुँदा नागरिकता लगायतका सेवा लिन नागरिकलाई समस्या भएको छ । कार्यालय प्रमुख अनिल रिजालको ०८२ भदौ २३ गते सरुवा भएपछि कार्यालय प्रमुखविहीन भएको छ भने नागरिकहरु सहज सेवाबाट बञ्चित भएका छन् ।

छोराको नागरिकता बनाउन असोज २२ गते इलाका प्रशासन कार्यालय लमही पुग्नु भएका राप्ती गाउँपालिका–२ का विष्णु अधिकारीले सहज सेवा नपाएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दाङले कार्यालय प्रमुख नआउँदासम्म हप्तामा एकदिन घोराहीबाटै एक जना अधिकृत पठाएर सेवा दिने गरेको छ । हप्तामा एकदिनमात्रै सेवा पाइने भएपछि सेवा लिन निकै गाह्रो भएको केही सेवाग्राही फर्किनु परेको सेवाग्राही अधिकारीले बताउनुभयो ।
लमहीस्थित इलाका प्रशासन कार्यालयले प्रदेश राजधानी राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकाका नागरिकलाई नागरिकता, पासपोर्ट, नागरिक परिचयपत्रलगायतका सेवा दिँदै आएको छ । कार्यालय प्रमुख नहुँदा हप्ताको ६ दिन सेवाग्राहीका फाइल तयार गर्ने र एक दिन घोराहीबाट अधिकृत बोलाएर नागरिकतालगायतका सेवा दिने गरेको इलाका प्रशासन कार्यालय लमहीकी निमित्त कार्यालय प्रमुख नासु इश्वरी भारतीले बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कार्यालय प्रमुखको व्यवस्थापन गर्न संघीय मन्त्रालयमा आग्रह गरिएको र कार्यालय प्रमुख नआउँदासम्म जिल्ला प्रशासन कार्यालय घोराहीबाट हप्तामा एक दिन अधिकृत स्तरको कर्मचारी पठाएर सेवा दिने गरेको बताउनुभयो । साथै उहाँले जरुरी काम परे जिल्ला प्रशासन कार्यालयमै आएर सेवा लिन आग्रह गर्नुभयो ।
जयनारायण पुन