अदानचुली गाउँपालिका कार्यालय हुम्लाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हटाएपछि स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन बनेका छन् । गाउँपालिकाले ०८२ साउन १ गतेदेखि सामुदायिक स्वास्थ्य इकाइमा रहेका स्वास्थ्यकर्मी हटाएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
दिनप्रतिदिन गाउँमा बिरामी बढ्दै गएपनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय कल नेपालीले गुनासो गर्नुभयो । लाम्टे स्वास्थ्य इकाइमा औषधी भएपनि स्वास्थ्यकर्मी नहुँदा बुबालाई उपचार गर्न बाजुराको कोल्टी लैजानु पर्ने अवस्था आएको नेपालीले बताउनु भयो ।
गाउँपालिकाले करार कर्मचारीलाई काम नगर्न सूचना प्रकाशित गरेपछि गाउँपालिकामा रहेका सात ओटा सामुदायिक स्वास्थ्य इकाइ एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेका हुन् । जसका कारण वडावासीलाई सास्ती भएको छ । यहाँका सामान्यदेखि जटिल खालका बिरामीले तीनदेखि चार घण्टा पैदल हिँडेर लौठी स्वास्थ्य चौकी र श्रीनगर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता रहेको छ । त्यति मात्रै होइन, स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा बिरामीलाई बाजुराको कोल्टी लगायतका अस्पातालमा लैजान थालिएको छ । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले स्वास्थ्य शाखामा रहेका केही स्वास्थ्यकर्मीले समय मिलाएर बन्द रहेका स्वास्थ्य संस्थामा गएर सेवा प्रदान गरिरहेको दावी गर्नुभयो । उहाँले केही दिनमा यो समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।