INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकालाई आधारभूत शिक्षा, गर्भवती,ज्येष्ठ नागरिकलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने विराटनगर महानगपालिकाको घोषणा

विराटनगर महानगरपालिकाले शिक्षाको अधिकार, प्रजनन् स्वास्थ्य अधिकार, ज्येष्ठ नागरिकहरूको अधिकारलाई लक्षित गरी असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

विराटनगर महानगरपालिकाले असार १० गते सार्वजनिक गरेको नीति कार्यक्रममा गर्भवती, जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरिएको छ ।

अगामी आर्थिक वर्ष ०७७–०७८ का लागि असार १० गते छैठौं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा महानगरपालिकाले आफ्नै एम्बुलेन्स व्यवस्था गरेर गर्भवती र जेष्ठ नागरिकहरूलाई निःशुल्क र आम नागरिकलाई सहुलियत दरमा सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले नगरसभामा प्रस्ताव गरेको नीति कार्यक्रमअनुसार अस्पताल तथा घरबाट घाटसम्म लैजान निःशुल्क शवबाहन सेवा सञ्चालन गर्ने र नगरवासीलाई निःशुल्क रक्त सेवा उपलव्ध गराउने उल्लेख छ ।

नीति तथा कार्यक्रममा सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निश्चित स्थानहरूबाट फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना रहेको महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ छोरी पढाऊ’ कार्यक्रमका लागि आमाहरूलाई प्रोत्साहन गर्ने र ८४ वर्षभन्दा माथिका नागरिकलाई पोषण भत्ता दिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिएको छ ।

प्रस्तावित नीति  तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रेसर, डायवेटिज, मुटु, आदी जीवनभरी औषधि खाने बिरामीहरूका लागि सहुलियत दरमा औषधि उपलब्ध गराउन विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गराउने लक्ष्य लिएको छ ।

नियमित स्वास्थ्य जाँच गराउनुपर्ने दीर्घ रोगीहरूका लागि सहुलियत दरमा ल्याव सेवा, इसिजी, भिडियो एक्सरे रगत जाँचसहित होलबडी चेकअपको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विराटनगर महानगरपालिकाले आधारभूत शिक्षाको उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्नाको व्यवस्था गर्ने भएको छ ।

छैठौं नगरसभामा असार १० गते महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख भीम पराजुलीले अनिवार्य शिक्षाको सुनिश्चितताको लागि आधारभूत शिक्षाको उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्नाको नीति लिएको जानकारी दिनुभएको छ ।

समुदायमा आधारित बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरिने नीति महानगरले लिने भएको छ । अपाङ्गता भएका बालबालिकाको पठनपाठनमा सहजता ल्याउन अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा सिकाइ वातावरणको प्रवन्ध गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य

भिडियो