विराटनगर महानगरपालिकाले शिक्षाको अधिकार, प्रजनन् स्वास्थ्य अधिकार, ज्येष्ठ नागरिकहरूको अधिकारलाई लक्षित गरी असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिकाले असार १० गते सार्वजनिक गरेको नीति कार्यक्रममा गर्भवती, जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरिएको छ ।
अगामी आर्थिक वर्ष ०७७–०७८ का लागि असार १० गते छैठौं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा महानगरपालिकाले आफ्नै एम्बुलेन्स व्यवस्था गरेर गर्भवती र जेष्ठ नागरिकहरूलाई निःशुल्क र आम नागरिकलाई सहुलियत दरमा सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले नगरसभामा प्रस्ताव गरेको नीति कार्यक्रमअनुसार अस्पताल तथा घरबाट घाटसम्म लैजान निःशुल्क शवबाहन सेवा सञ्चालन गर्ने र नगरवासीलाई निःशुल्क रक्त सेवा उपलव्ध गराउने उल्लेख छ ।
नीति तथा कार्यक्रममा सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निश्चित स्थानहरूबाट फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना रहेको महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ छोरी पढाऊ’ कार्यक्रमका लागि आमाहरूलाई प्रोत्साहन गर्ने र ८४ वर्षभन्दा माथिका नागरिकलाई पोषण भत्ता दिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रेसर, डायवेटिज, मुटु, आदी जीवनभरी औषधि खाने बिरामीहरूका लागि सहुलियत दरमा औषधि उपलब्ध गराउन विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गराउने लक्ष्य लिएको छ ।
नियमित स्वास्थ्य जाँच गराउनुपर्ने दीर्घ रोगीहरूका लागि सहुलियत दरमा ल्याव सेवा, इसिजी, भिडियो एक्सरे रगत जाँचसहित होलबडी चेकअपको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
विराटनगर महानगरपालिकाले आधारभूत शिक्षाको उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्नाको व्यवस्था गर्ने भएको छ ।
छैठौं नगरसभामा असार १० गते महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख भीम पराजुलीले अनिवार्य शिक्षाको सुनिश्चितताको लागि आधारभूत शिक्षाको उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्नाको नीति लिएको जानकारी दिनुभएको छ ।
समुदायमा आधारित बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरिने नीति महानगरले लिने भएको छ । अपाङ्गता भएका बालबालिकाको पठनपाठनमा सहजता ल्याउन अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा सिकाइ वातावरणको प्रवन्ध गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।