INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा

बाजुरा जिल्ला अस्पताल मार्तडीमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा परेका छन् । अस्पतालमा दैनिक १५ जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको भएपनि बिरामीको हेरचाह गर्ने र राति स्वास्थ्यकर्मी कार्यक्षेत्रमा नजाने गरेकोले बिरामीहरू समस्यामा पर्दै आएको बिरामीले आरोप लगाएका छन् ।

डक्टरले साँझ एकपटक मात्रै बिरामीलाई चेकजाँच गर्ने र त्यो समय भन्दापछि कुनै पनि स्वास्थ्यकर्मी नआउने गरेको जिल्ला अस्पताल बाजुरामा उपचार गरिरहेका स्थानीय धनसिंह रावल र बिरामीको कुरूवा जनक भण्डारीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डक्टर दुर्गा महर्जनले व्यवस्थापनका कारण लापरबाही भएको बताए । नर्सिङ कर्मचारी ‘ड्यूटी’मा नबस्ने गुनासो आउने गरेको डक्टर महर्जनले बताए । अस्पतालमा टाइफाइड, म्यानेन्जाइटिसलगायत कडा खाले बिरामीहरू भर्ना भएका भए पनि ड्यूटीमा स्वास्थ्यकर्मी नबस्दा बिरामीलाई निकै समस्या भएको डक्टर महर्जनले बताएका छन् । ‘न जनशक्ति छ । न व्यवस्थापन पक्ष नै राम्रो छ । सबै आ-आफ्नो तरिकाले चल्ने गरेका छन् । स्वास्थ्य सेवा नै अस्तब्यस्त रहेको छ ।’-डाक्टर महर्जनले भने ।

सरकारी तवरबाट चासो कम हुनु र स्वास्थ्य व्यवस्थापन समितिको बेवास्ताले अस्पतालमा बिरामीहरूले राम्रो सेवा नपाउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख रामचन्द्र यादवले स्वास्थ्यकर्मीहरूले बिहान, दिउँसो र साँझ राउण्ड लगाउँछन् तर बिरामीको क्षमता अनुसार कर्मचारीको आन्तरिक व्यवस्थापनको कमी कमजोरी र कर्मचारी बीचमा आन्तरिक विवादका कारणले समस्या भएको बताए ।

‘नर्सिङ स्टाफबीच द्वन्द्व भएका कारणले समस्या भएको हो । मिलाउने प्रयास भइरहेको छ ।’-यादवले भने ।

जिल्ला स्वास्थ्य कार्यालयमा अहिले एक जना मात्रै डक्टर रहेका छन् । एकजना मात्र चिकित्सक हुँदा अहेबले बिरामी चेकजाँच गर्ने गरेका छन् । ‘बिरामीको चेकजाँच चिकित्सकले गर्नु पर्ने हो । चिकित्सक अभावमा अस्पतालमा बिरामी अहेबले जाँच्नु पर्ने बाध्यता रहेको छ ।’-निमित्त प्रमुख रामचन्द्र यादवले भने ।

कार्यलय प्रमुख डक्टर रूपचन्द्र विश्वकर्मा र डक्टर टिका राई बिदा लिएर काठमाडौँ गएका छन् । दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने भएपनि कर्मचारी अभाव र स्वास्थ्यकर्मीको लापरवाहीले बिरामी मारमा पर्दै आएका छन् ।

अन्य

भिडियो