मोन्था चक्रवातको असर कोशी प्रदेशका विभिन्न जिल्लामा परेपछि विद्यालय बन्द गरिनुका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।
भारी वर्षा र पहिरोका कारण विभिन्न सडक अवरुद्द भएपछि एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा बिरामीसहित सर्वसाधरणले सास्ती पाएका छन् ।
मोन्था चक्रवातको असरका कारण अत्यधिक वर्षा भएपछि धनकुटाको पाख्रिवास नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
पाख्रिवास नगरपालिकाले कात्तिक १६ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
अत्यधिक वर्षाका कारण सडक पूर्वाधार जलमग्न भएपछि सुनसरीको इटहरी उपमहानगरपालिका कात्तिक १४ गते निजी तथा सामुदायिक विद्यालयलाई मिनपचासबाट कट्टा हुने गरी बिदा दिएको छ ।
मोन्था चक्रवातको प्रभावसँगै कोशी प्रदेशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । भारी वर्षाका कारण जिल्ला प्रशासन कार्यालय, इलामले मेची राजमार्ग र वैकल्पिक सडकमा सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ ।
इलामको मेची राजमार्गस्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको छ । साथै तिल्केनी– सिमलगोलाई – शिल्पुर वैकल्पिक सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कात्तिक १३ गतेदेखि मेची राजमार्ग हुँदै सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गको विभिन्न ठाउँमा जमिन चिरा परी दवेको कारण पहिरो जान सक्ने धेरै जोखिम छ । जसका कारण दुवैतर्फ सडक अबरोध भएको छ । इलाम नगरपालिका– १० शिल्पुरदेखि इलाम नगरपालिका ८ तिल्केनी जोड्ने वैकल्पिक भित्री सडकखण्ड समेत अबरोध रहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।
यसैगरी, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ ।
तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण सवारी आवागमन ठप्प भएको छ ।
कोशी प्रदेश कार्यालय