निरन्तर वर्षापछि बाढीपहिरोका कारण जिल्लामा बितेको २४ घण्टाको अवधिमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
प्राकृतिक विपदको घटनामा तुम्वेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया ज्येष्ठ नागरिक कान्छीमाया शेर्पाको घर असोज १९ गते राति पहिरोले पुर्दा मृत्यु भएको छ ।
फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय बालक मिसेक नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरेर मिक्लाजुङ–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे र फाल्गुनन्द गाउँपालिका–५ का जौबारीका धनबहादुर चेम्जोङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश तामाङले बताउनु भएको छ ।
भारी वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ । मेचीराज मार्ग, तमोर करिडोर, मध्यपहाडी लोकमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएका छन् ।
सडक संरचनामा विभिन्न क्षेत्रमा बगाएका कारण एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । जसमा कारण प्राकृतिक विपद्मा परेर घाइते भएका र बिरामी भएकाहरुलाई सुविधा सम्पन्न अस्पताल लैजान कठिनाइ भएको छ ।
मोरङमा निरन्तर वर्षापछिको बाढीका कारण विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिक एक जना महिलाको डुबेर मृत्यु भएको छ । असोज १९ गते भारतीय नागरिक हाल विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउतलाई बाढीले बगाएर नजिकैको कल्भर्टको खाल्डोमा डुवाएको थियो । स्थानीयवासीहरूले उनलाई तुरुन्तै बाहिर निकाले उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्राकृतिक विपद्का घटनामा सुनसरीमा सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबानमा परेका छन् । वर्षातका कारण बाढी, डुबान र पहिरोका कारण सुनसरीको जनजीवन अस्तव्यस्त भएको छ । सुनसरीको धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी र भोक्राहा नरसिंहलगायतका स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताउनु भयो । कोशी लोकमार्गको धरान–भेडेटार सडकखण्ड र धरान–२० विष्णुपादुका–सागुरीगढी सडकखण्डमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । मधुवन प्रहरी चौकीको कार्यालय भवनमा समेत पानी पस्दा क्षति पुगेको डीएसपी खतिवडाले बताउनु भयो ।
इनरुवा नगरपालिका–९ मा करिब १ सय २० घर र इनरुवा–१० मा ७० घर बाढीले प्रभावित छन् । जाल्पापुर क्षेत्रमा मात्रै ३ सय घर डुबानमा परेका छन भने करिब ६० घरका बासिन्दा आफन्तकोमा आश्रय लिएर बस्नु परेको छ । इनरुवा नगरपालिका–४ मरिक टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर र जानोद्दय आधारभूत विद्यालय डुबानमा परेको छ । इनरुवा नगरपालिका–८ गौरी टोलमा पनि २० घरमा डुवानमा परेका छन् ।
बराहक्षेत्र नगरपालिका क्षेत्रमा करिब १ सय ६० घर डुबानमा परेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिवस कुँवरले बताउनु भयो । उहाँले घर डुवान भएपछि बराहक्षेत्र–७ पानी टंकी क्षेत्रका चार घरका बासिन्दा छिमेकीकोमा आ श्रय लिएर बसेको बताउनु भयो । बराहक्षेत्र–८ दोभान खोलाले स्थानीय ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । बराहक्षेत्र नगरपालिका–४ स्थित ३३ बिघा क्षेत्रमा सर्दु खोलाले हाइटेन्सन टावरतर्फ कटान गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३ सय घर डुबानमा परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–१ धार्मिक्ता टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर जलमग्न भएका छन् ।
भोक्राहाकै कार्डियो न्युरो अस्पतालमा पनि डुबानमा परेको छ । जसका कारण अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । इटहरी उपमहानगरपालिकामा रहेको एसओएस बालग्राम डुवानमा परेको बालग्रामका प्रमुख देवचरण चौधरीले बताउनु भयो ।
रामधुनी नगरपालिका–६ र ७ को पंचायन क्षेत्रमा करिब २० घर डुबानमा परेका छन् । इटहरी–५ का ड्रुम र सुकुम्बासी टोलमा गरी १० घर डुवानमा परेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश कार्यालय