जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दाङ जिल्ला अदालत, उच्च अदालत तुलसीपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट तुलसीपुरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले कात्तिक २६ गते घोराही र तुलसीपुरबाट १० जनालाई गिरफ्तार गरेको छ ।
जिल्ला अदालतमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले तुलसीपुर उमनपा–१ भमके स्थायी घर भइ हाल घोराही उमनपा–१५ डेरा गरी बस्ने २५ वर्षीय नविन नेपाली, छत्रदेव गाउँपालिका–७ अर्घाखाची स्थायी घर भइ हाल घोराही–१४ बस्ने ३७ वर्षीय कृष्ण पाण्डेलाई गिरफ्तार गरेको छ । यस्तै उच्च अदालत तुलसीपुरमा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–७ का २६ वर्षीय रुपेश नेपाली र बागचौर नगरपालिका–२ स्थायी घर भइ हाल तुलसीपुर उमनपा–९ बस्ने १८ वर्षीय सुनिल वलीलाई पनि गिरफ्तार गरेको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट समेत गरेको आरोपमा घोराही उमनपा–१५ का १८ वर्षीय हैदर अली, सोही ठाउँका ३० वर्षीय आकाश गिरी र घोराही उमनपा–३ का ४७ वर्षीय वसन्त अधिकारीलाई गिरफ्तार गरेको हो ।
यस्तै अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्कमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा तुलसीपुर उमनपा–५ का २० वर्षीय करण सुनार, सोही ठाउँका १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर उमनपा–६ का १८ वर्षीय ज्ञानेन्द्र गन्धर्वलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसअघि दाङ प्रहरीले सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा १० जनालाई गिरफ्तार गरि अनुसन्धान थालिसकेको छ ।