INSEC Online

📅 २०८३ जेष्ठ २१

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेश प्रमुखको कार्यालय तोडफोड

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई २०८२ कात्तिक २४ असंवैधानिक ढंगले नियुक्त गरेको भन्दै राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालयमा र मन्त्रालयमा तोडफोड गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका सांसद र कार्यकर्ताहरूले नियुक्तिलाई “संविधान र कानुनविपरित भएको” भन्दै विरोध जनाएका छन् ।

महोत्तरी जिल्लाको बर्दिबासस्थित पानस होटलमा बिहान ४ बजे प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले यादवलाई मुख्यमन्त्री पदको शपथ गराएपछि नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउदै प्रदेश राजधानी जनकपुरधाममा विरोध प्रदर्शन भएको हो ।

सभासद्हरुले कार्यालयमा तोडफोड गर्नुका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत नायब सुब्बा २४ वर्षीय पंकज कुमार यादव र कार्यालय सहयोगी ५७ वर्षीय शिवलाल महरामाथि हातपात गरेको सुब्बा यादवले बताउनु भयो ।

तोडफोड घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय का संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि संतोष कुमार यादव, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राहुल ठाकुर, मानव अधिकार अधिकृत दिपक पाण्डेले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्रालय अगाडिका गमला, गेट तथा भौतिक संरचनाहरूमा क्षति पुगेको इन्सेक मधेश प्रदेश संयोजक पासवानले बताउनु भयो ।

संतोष कुमार यादव

अन्य

भिडियो