INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की जिल्ला कारागारको इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको नेतृत्वमा नागरिक समाजका प्रतिनिधिको संयुक्त टोलीले ०८३ वैशाख २९ गते कास्की जिल्ला कारागारको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारी, नागरिक सञ्जाल गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बराल, अधिकारकर्मी तथा पत्रकार मधु पन्थी, सामाजिक अभियन्ता मिलन डुम्रे तथा इन्जिनियर गणेश अधिकारी सहभागी हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालयले कारागारभित्र फोटो वा भिडियो नखिच्ने सर्तसहित नियमानुसार समन्वय गरी अनुगमनका लागि अनुमति दिएको थियो ।

अनुगमनका क्रममा कारागारको भौतिक अवस्था, कैदीबन्दीको जीवनयापन, स्वास्थ्य, सरसफाइ तथा व्यवस्थापनसम्बन्धी विषयमा निरीक्षण गर्नुका साथै कैदीबन्दीसँग भेटघाट तथा छलफल गरिएको थियो । कैदीबन्दीहरूले कारागारभित्र मुढा बुन्ने, कफि बनाउने लगायतका सीपमूलक काम गर्दै आएको टोलीले जनाएको छ । साथै खेलकुदका लागि सामान्य सुविधा उपलब्ध रहेको तथा समाचारपत्र र टेलिभिजनको व्यवस्था गरिनुका साथै कारागारमा नागरिक वडापत्रको व्यवस्था समेत रहेको थियो ।

अनुगमन टोलीका अनुसार कास्की कारागारमा ढल निकासको समस्या सबैभन्दा जटिल देखिएको छ । पुरानो संरचना, अत्यधिक चाप र सीमित स्रोतसाधनका कारण कारागारको अवस्था वर्षौंदेखि सुधार हुन नसकेको पाइएको छ ।

कारागारमा २० महिला र ४ सय पुरुष गरी ४ सय २० जनाको क्षमता रहेकोमा हाल क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार ७ सय ७३ कैदीबन्दीमध्ये १ सय २८ जना बाहिर रहेका छन् भने हाल कारागारभित्र २५ महिला, एक आश्रित बालिका र ६ सय ६८ पुरुष रहेका छन् । महिलातर्फ ११ जना थुनुवा र १४ जना कैदी छन् भने पुरुषतर्फ २ सय ७१ थुनुवा र ३ सय ९७ जना कैदी रहेका छन् ।

कारागार प्रमुख राजेन्द्र पौडेलले क्षमताभन्दा चारदेखि पाँच गुणासम्म बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा गम्भीर चुनौती उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार कैदीबन्दीको आवास भवन पुरानो तथा जीर्ण अवस्थामा रहेको छ । खानेपानीको समस्या केही हदसम्म समाधान भए पनि ढल निकासको समस्या अझै विकराल रहेको पौडेलले बताउनुभयो ।
नागरिक मञ्च गण्डकी प्रदेशका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले कारागारलाई वास्तविक अर्थमा सुधारगृहमा रूपान्तरण गर्न नसकिएको बताउनुभयो । उहाँले कारागारलाई दण्ड दिने थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । बरालले जमाना धेरै अघि बढिसक्यो, तर हाम्रो कारागार व्यवस्था अझै पुरानै ढर्रामा चलिरहेको छ भन्नुभयो साथै कारागारलाई दण्ड दिने थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्र बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारीले यस्ता अनुगमनले कारागारलाई सुधारगृहका रूपमा विकास गर्न सहयोग पुग्ने तथा कैदीबन्दीका आधारभूत अधिकार सुनिश्चित गर्न राज्यलाई दबाब सिर्जना हुने बताउनुभयो । टोलीले कैदीबन्दी, जेलर, सुरक्षा निकायका प्रतिनिधि तथा कारागार प्रशासनसँग व्यवस्थापन, मानव अधिकारको अवस्था तथा सुधारका विषयमा छलफल गरेको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालयको टोलीले पनि कारागार निरीक्षण गरी कारागारको भौतिक अवस्था, सुरक्षाको स्थिति, प्रशासनिक कार्यसम्पादन, कैदीबन्दीका समस्या तथा गुनासोबारे जानकारी लिँदै सुधारात्मक कार्य अघि बढाउन निर्देशन दिएको थियो । कारागारलाई सुधारगृहको अवधारणाअनुसार सञ्चालन गर्दै कैदीबन्दीप्रति मानवीय व्यवहार, समयानुकूल ऐननियम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो