सिन्धुली कारागारबाट ०८२ भदौ २५ गते भागेका बलात्कार मुद्दाका आरोपी सन्दीप बर्मालाई ०८२ मंसिर २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको विशेष प्रहरी टोलीले बर्मालाई सिन्धुलीको तीनपाटनबाट गिरफ्तार गरेको हो ।
यसअघि सिन्धुली जिल्ला अदालतको ०८२ असार ११ गतेको आदेश अनुसार बर्मालाई बलात्कार सम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । कारागारमा रहेकै अवस्थामा गत भदौ २५ गते सिन्धुली जेल तोडेर अन्य कैदी बन्दिएसँगै उनी पनि भागेका थिए ।
बर्मालाई मंसिर २४ गते नै जिल्ला कारागार कार्यालय, सिन्धुली पठाइएको डिएसपी सुवेदीले जानकारी दिए ।