आन्दोलनका क्रममा ०८२ भदौ २४ गते रामधुनी नगरपालिका–५ मा रहेको क्षेत्रीय कारागार झुम्काबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
मेचीनगर नगरपालिका–६ का ५८ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरीलाई मेचीनगर नगरपालिका–६ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका दुवै जेनजी आन्दोलनको मौकामा ०८२ भदौ २३ गते कारागारबाट फरार भएका थिए ।
पुरुष कैदीबन्दी तथा थुनुवामा मात्र राखिने १ हजार ६ सय जनाको क्षमता भएको क्षेत्रीय कारागार झुम्कामा जेनजी आन्दोलन हुँदा १ हजार ७ सय ९९ जना कैदीबन्दी तथा थुनुवा थिए ।
जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कारागारबाट १ हजार ५ सय ७२ जना भागेका थिए ।
भागेका मध्ये ०८२ मड्सिर १० गतेसम्म १ हजार २४ जनालाई गिरफ्तार वा विभिन्न तरिकाले कारागारमा फर्काइएको कारागारका जेलर सुवास लामिछानेले बताउनु भयो । कारागारबाट फरार भएकामध्ये अझै ५ सय ४८ जनालाई फर्काउन बाँकी रहेको जेलर लामिछानेको भनाइ छ ।