INSEC Online

📅 २०८३ जेष्ठ २१

जलेश्वर कारागारः राहतको पर्खाइमा कैदीबन्दी

असोज १८ गतेदेखिको अविरल वर्षाका कारण जिल्ला कारागार जलेश्वर डुवानमा पर्दा कैदीबन्दी अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य भएका छन् ।

कुल २ सय ७५ जना कैदीबन्दी रहेको कारागार भित्र चार फिटसम्म पानी पस्दा बस्ने ठाँउ, खाद्यान्न, खानेपानी र शौचालयको समस्या भइरहेको कारागारका निमित्त प्रमुख रबिन ठाकुरले बताउनु भयो । कारागारको पुरानो दुई तल्ले भवनमा सबैलाई सारिए पनि खानाको अभावमा भोकै बस्नु पर्ने अवस्था रहेको कारागार प्रमुख ठाकुरको भनाइ छ ।

जलेश्वर नगरपालिकाले असोज १९ गते ५० कार्टुन पानी, ५० के.जी. भुजा र ५० कार्टुन चाउचाउ मात्र रहत सहयोग गरेको कारागार प्रशासनले जानकारी दिएको छ । कारागारमा वृद्ध तथा दीर्घ रोगी रहेकाले राहत र सहयोगको लागि समेत अपिल गरेको कारागार प्रमुख ठाकुरले बताउनु भयो ।

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट ५ सय ७५ जना कैदीबन्दी भागेका थिए । आफै फर्किएका र प्रहरीले नियन्त्रणमा लिएका समेत गरी हाल २ सय ७५ जना कैदी बन्दी कारागारमा रहेका छन् ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो