INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिकार्य योजना बनाएर विपद्को समाना गर्दैछौँ

विगत केही दिनदेखि नियमित रूपमा मौसम सक्रिय भएको छ । विगतको तुलनामा यो वर्ष औषतभन्दा बढी वर्षा हुने र अघिल्लो वर्षको तुलनामा बढी जनधनको क्षति हुने अनुमान मौसमविद्हरूले गरेका छन् । वर्षाद्का कारण पहाडी भु–भागमा पहिरोको उच्च जोखिम र तराई क्षेत्रमा बाढी, पहिरो, डुवान, कटान र पटानका घटनाहरू बढी हुन्छन् । वर्षातका कारण हुने बाढी पहिरो व्यवस्थापन, उद्धार र राहतका लागि स्थानीय तहहरूले विभिन्न योजना बनाएका छन् । स्थानीय तहहरू सम्भावित जोखिम न्यूनीकरणका लागि जनचेतना मूलक अभियानदेखि राहत कोष व्यवस्थापन गरी तत्काल उद्धार र राहतको कार्यमा जुटेका छन् । यसै सन्दर्भमा कपिलवस्तु जिल्लाका पाँच स्थानीय तहका प्रमुखहरूसँग वर्षायाममा हुने विपदको जोखिमलाई कम गर्न के कस्ता प्रतिकार्य योजनाहरु बनाएर अगाडि बढेका छन् । यसै विषयमा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीले प्रतिनिधि मुलक रुपमा तयार गर्नुभएको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

चक्रपाणी अर्याल

नगर प्रमुख, वाणगङ्गा नगरपालिका, कपिलवस्तु

विपद् व्यवस्थापनका लागि वाणगङ्गा नगरपालिकाले स्थानीय तहभित्र रहेका बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता रहेको स्थानीय तहस्तरीय विपद् व्यवस्थापन समिति गठन गरेको छ । त्यस समितिले विपद् आउनु पूर्व विभिन्न खालका प्रतिकार्य योजनाहरू निर्माण गरेर अगाडि बढेको छ । समितिले प्रतिकार्य योजना बनाउँदा स्थानीय तहभित्र रहेको जोखिम क्षेत्रहरूको पहिचान गरी विपद्का कारण हुन सक्ने जोखिम क्षेत्रहरू, आवश्यक पर्ने मानवीय स्रोत, साधन, उद्दार सामाग्रीहरू लगायतका विषयमा कार्ययोजना बनाएर अगाडि बढेको छ । वाणगङ्गा नगरपालिकामा वाणगङ्गा नदि र कोइली नदिको पूर्व-पश्चिम क्षेत्रका किनारमा रहेका वस्तीहरू अलि जोखिममा हुने भएकोले सोही अनुरुप स्थानीयबासीहरूलाई सचेतीकरण गर्ने गरेका छौँ । विपद्को आँकलन गरी उद्दारका लागि विभिन्न उद्दार सामाग्रीहरू सुरक्षाकर्मीलाई उपलब्ध गराएका छौँ । जिल्लास्तरीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ । विपद् व्यवस्थापनका लागि स्थानीय तहभित्रका सबै वडामा अवस्थाको विश्लेषण गरेर अगाडि बढेका छौँ । त्यो बाहेक जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्क र सचेत रहनका लागि सचेतीकरण गरेका छौँ । जोखिममा सबैभन्दा बढी प्रभावित महिला, सुत्केरी गर्भवती, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिक हुने भएकोले यस्ता विषयमा संवेदनशील भएर उद्दारमा खटिन र सबैलाई सचेत गराउने गरी प्रतिकार्य योजना बनाएर विपद्को सामाना गर्ने प्रयास गरेका छौँ ।

सुदिप पौडेल

नगर प्रमुख, कपिलवस्तु नगरपालिका, कपिलवस्तु

सुदिप पौडेलकपिलवस्तु नगरपालिकाको वडा नं. ३, ४ र १२ मा बाढी, डुवान, कटानको जोखिम बस्ती रहेको छ । वाणगङ्गा नदिको त्यही बस्तीको छेउछाउबाट बग्ने भएकोले यसमा पनि अझ बढी अक्बरपुर बढी जोखिममा रहेको छ । त्यो बाहेक कपिलवस्तु नगरपालिकामा नालाको कारण डुवान हुने कटान हुने जस्ता समस्याहरू पनि छन् । तथापी ती समस्याहरूलाई सम्बोधन गर्ने खालले स्थानीय तहस्तरीय विपद् व्यवस्थापन समितीले विभिन्न खालका प्रतिकार्य योजना बनाएर अगाडि बढिरहेको छ । बाणगंगा नदिमा पानीको बहाव उर्लेर आउँदा त्यस वरिपरिको बस्ती बढी जोखिममा हुने भएकोले स्थानीयहरूलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरिएको छ । कतिपय माटोका घरहरू भत्केका घरपरिवारहरूलाई जिल्लास्तरीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर राहतको व्यवस्था गरिएको छ । त्यस्तै विपद्को जोखिम क्षेत्रहरूको पहिचान गरेर के कस्ता जोखिमहरू आउन सक्छन् त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवालाहरूसँग समन्वय गरेर विपतको सामना गर्न, उद्दार गर्नका लागि कार्यायोजना बनाएर अगाडि बढेका छौँ । विपद्मा परेका व्यक्तिहरूको उद्दारका लागि उद्दार सामाग्रीहरू किनेर सशस्त्र प्रहरी बल २८ नं. गणलाई हस्तान्तरण गरेका छौँ । स्थानीय तहमा हुन सक्ने विपद्को पूर्व आँकल गर्ने, प्रतिकार्य योजना बनाउने, उद्दार सामाग्री, उद्दार कर्मी, सुरक्षाकर्मीहरूसँग समन्वय गर्ने गरेका छौँ ।

अजय थापा

नगरप्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु

अजय थापाशिवराज नगरपालिकाका भौगोलिक रूपले पहाडको केही क्षेत्र र तराईको केही भू-भाग मिलेर बनेको स्थानीय तह भएकोले यस स्थानीय तहको धानखोला क्षेत्रमा पहिरोको बढी जोखिम देखिन्छ  भने वडा नं. २ हल्लानगरमा सुरई खोलाको छेउछाउको बस्ती बाढीको जोखिममा रहेको छ । सुरई खोलाको बाढीले १० ओटा घरहरू जोखिममा रहेका छन् । जोखिममा रहेका घरहरूको दुरी र बाढीको दुरी १० मिटरको दुरीमा रहेको छ । सुरई खोलाले प्रतिकार्य योजना बनाएको तठबन्धनलाई बगाएको छ । तठबन्धनले पनि काम गरेन । अहिले तठबन्धन बगाएपछि बोराहरू राख्ने र त्यसलाई बस्तीमा पस्न रोक्नका लागि काम भइरहेको छ । जोखिममा परेका घर परिवारहरूलाई सुरक्षित स्थानमा जानको लागि र सरसामानहरू सुरक्षित स्थानमा राख्नको लागि अनुरोध गरेका छौँ । विपद्मा हुन सक्ने जोखिमलाई कम गर्नका लागि स्थानीय तहले जोखिम क्षेत्रको पहिचान गर्ने, सूचनाहरूको प्रवाह गर्ने, उद्दार सामाग्रीहरू र सुरक्षाकर्मीहरूलाई सक्रिय रूपमा हुन भनिएको छ । विस्थापितहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, गर्भवती, सुत्केरीहरूलाई प्राथमिकतामा राखेर उद्दार गर्ने कुरालाई सबैलाई निर्देशन वडा तहसम्म भएको छ ।

कमलेश शरण चौधरी

अध्यक्ष, सुद्धोधन गाउँपालिका कपिलवस्तु

कमलेश शरण चौधरीसुद्धोधन गाउँपालिका भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यसको दक्षिण भागमा वेती र मर्ती नामका नदि मिसिएर ठूलो नदि छ । धेरै पानी परेको बेला भारतले ढोका बन्द गरिदिँदा वारीको हाम्रो क्षेत्र डुवानमा पर्छ । हाम्रो स्थानीय तहमा पहिरो र बाढीको समस्या त्यत्ति ठूलो छैन । वर्षातको समयमा यस क्षेत्रमा बढी दुःख डुवानले दिन्छ । डुवानका कारण सबै धानबाली नष्ट नै हुन्छ । किसानले दुःख गरेर लगाएको खेती भित्रयाउन पाउँदैनन् । सुद्धोधन  गाउँपालिकाको वडा नं. ५ को फुलवापुर, दोहनीको पूर्वी सीमाना, घिराउजोत, लोधवी लगायतका स्थानमा धेरै जसो खेती योग्य जमिनमा डुवान हुन्छ । वडा नं. ६ को खोरिया र प्रसियामा पनि डुवानका कारण धान पुरै नष्ट भइसक्यो । हर्नामपुर र असुरैनयाबाट सानो कर्म र ठूलो कर्म बेती खोलाले वडा नं. ५ को पक्की बाटोलाई कटान गरेर क्षति पुर्‍याएको छ । यस्ता जोखिम क्षेत्रको पहिचान गरेर स्थानीय तह तठबन्धन र डुवान हुने ठाउँमा डिल लगाउने काम भइरहेको छ । प्रतिकार्य योजना निर्माण गर्दा बनाएका डिलहरूलाई पानीको वहाव धेरै भएकाले कटान गरेको छ भने कतिपय तठबन्धन गरेको ठाउँमा पारि भारतले ढोका बन्द गर्दा डुवान भएकोले त्यस विषयमा पनि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर अगाडि बढेका छौँ ।

बलिउद्दीन मुसलमान

अध्यक्ष, मायादेवी गाउँपालिका

बलिउद्दीन मुसलमानमायादेवी गाउँपालिकामा डुवानको समस्या रहेको छ । यो स्थानीय तहको दक्षिणी भू-भागमा जमुनिया नदि पर्छ । भारतसँग सीमाना जोडिएको स्थानीय तह भएकोले धेरै पानी परेको बेला भारतले ढोका बन्द गरिदिन्छ र खेती योग्य जमिन सबै डुवानमा पर्ने समस्या रहेको छ । अहिले सबैजसो खेतमा डुवान छ । भारतसँग समन्वय गरेर बल्ल बल्ल खोलिदिएको छ । किसान साह्रै पीडित छन् । स्थानीय तहले केही गर्न सक्ने अवस्था छैन । मायादेवी गाउँपालिकाको वडा नं. ४ स्थित पिपरामा तुल्सीडिया ताल छ । त्यही ताल भरिभराउ हुन्छ । जनताले खेती योग्य जमिनबाट सधैँ नोक्सान व्यहोर्नु परेको छ । स्थानीय तहमा अन्य त्यत्ति ठूलो समस्या छैन । विपद् व्यवस्थापन समितिको बैठक बस्न पनि त्यत्ति परेको छैन । अब स्थानीय तहले केही गर्न सक्ने अवस्था छैन त बैठक बसेर के गर्ने ?

अन्य

भिडियो