गत भदौ २३ र २४ गतेको नवयुवाहरुको प्रदर्शनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनका लागि समय तोकेको छ । निर्वाचन आउनका लागि दुई महिना बाँकी छ । सरकारले निर्वाचनका लागि सबै तयारी गर्दै आइरहेको कुरा विभिन्न सञ्चार माध्यमबाट आइरहेको छ । तथापी गाउँ, समुदाय र बस्तीहरुमा नागरिकहरुमा निर्वाचनको रौनक देखिदैन । अघिल्ला निर्वाचनमा निर्वाचन नजिकिएसँगै निर्वाचनको माहोल छुट्टै हुन्थ्यो अहिले त्यस्तो छैन । राजनीतिक दलहरु र नागरिकहरुमा पनि निर्वाचनप्रति उत्साह देखिदैन । निर्वाचनको विषयमा रुपन्देहीका नागरिकहरु के भन्छन् सो विषयमा इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी.ले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
समिता मल्ल
महिला अधिकारकर्मी, भैरहवा
अहिलेको अवस्थामा तोकिएकै अवस्थामा निर्वाचन हुन्छ भन्ने देखिदैन, विगतका निर्वाचनमा यतिखेर धेरै चुनावको लहर देखिन्थ्यो । जेनजी अन्दोलनपछि हातहतियार लुटिएका छन् । कैदीबन्दी भागेका छन् अहिलेकै अवस्थामा निर्वाचन असुरक्षित हुन्छ की भन्ने लाग्छ । अहिले पनि निर्वाचन नजिकिएसँगै प्रचार प्रसारका लागि दलहरु निस्केको देखिदैन । निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा हुनुपर्छ । अहिलेको आवश्यकता निर्वाचन भए पनि यही अवस्थामा निर्वाचन गर्न कठिन छ ।
एडि खान
मर्चवार, रुपन्देही
निर्वाचन समयमा हुनुपर्छ । अहिलेको सरकारले चाह्यो भने सेना, प्रहरीलाई परिचालन गरेर पनि निर्वाचन गराउन सक्छ । नेपालका सबै राजनीतिक दलहरु, सबै सर्वपक्षिय रुपमा मिलेर गएमा निर्वाचन तोकिएकै समयमा हुन्छ । लोकतान्त्रिक अभ्यासमा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । नवयुवा प्रदर्शन पश्चात् भागेका कैदीबन्दीका कारण निर्वाचन असुरक्षित हुन्छ जस्तो मलाइ लाग्दैन । तर फागुन २१ नजिकँदै जाँदा गाउँघरतिर, शहर बजारतिर निर्वाचनको रौनक अहिलेसम्म केही देखिदैन । स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सरकारको हो । देशका राजनीतिक दलहरुसँग सर्वदलीय र सर्वपक्षीय छलफल गरेर देशको निर्णय अनुसार अगाडी बढन सके निर्वाचन समयमा हुन्छ ।
अबन्तिका घर्ती
बुटवल
देशलाई निकास दिनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ तर अहिलकै अवस्थामा निर्वाचन हुने कुरामा विश्वस्त हुन कठिन छ । नवयुवा पुस्ताको प्रदर्शनको क्रममा धेरै क्षति भएको छ । देशका विभिन्न कारागारमा रहेका कैदीबन्दीहरु भागेका छन् । नागरिकहरुले ढुक्कसँग मतदान गर्न जान सक्ने स्थिति अहिलेकै अवस्थामा त्यति हुन सक्दैन भन्ने लागेको छ । निर्वाचन हुने मिति नजिकै जाँदा चुनावी रौनक जति हुनुपथ्र्याे त्यो गाउँमा खासै देखिदैन । नागरिकहरुमा एक खालको डरत्रास र भयको अवस्था छ । विगतमा हुने निर्वाचन जस्तो उत्साह केही छैन । निर्वाचन आवश्यक भए पनि अहिलेको यो अवस्थामा चुनाव तोकिएकै मितिमा कसरी हुनसक्छ होला र ? त्यति ढुक्क छैन् ।
अनिल नेटुवा
लुम्बिनी साँस्कृतिक नपा, रुपन्देही
चुनाव हुनुपर्छ तर के का लागि चुनाव गर्ने हो ? अहिलेसम्म भएका चुनाव र चुनावमा जिताएकाहरुबाट म र म जस्तो समुदायले के पायो । चुनावका बेला आउने यसो गर्छौ उसो गर्छौ भन्ने तर केही माखो कसैले मारेनन् । नवयुवा पुस्ताको प्रदर्शनपछि सुरक्षाको अवस्था लथालिङ्ग छ । यस्तो अवस्थामा चुनाव कसरी होला र ? निर्वाचन भयरहित वातावरणमा हुनुपर्छ । स्वच्छ र निष्पक्ष हुनुपर्छ भनिन्छ । हजाराँै कैदीबन्दीहरु जेल तोडेर भागेका छन् । हतियार लुटिएको छ यस्तो अवस्थामा कसरी चुनाव हुनसक्छ र ? फेरी चुनावमा भोट हालेर नि के पाइने रहेछ र हामी जस्ता अल्पसङ्ख्यक र गरिब परिवारले ? किनभने हामी थोरै सङ्ख्यामा छौँ हाम्रा आवाजलाई कसैले सुन्न चाहँदैनन् ।
निजामुद्दिन पठान
रोहिणी गाउँपालिका, रुपन्देही
लोकतान्त्रिक राज्य व्यवस्थामा निर्वाचन अपरिहार्य छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रमा निर्वाचनले देशलाई सिस्टममा चलाउन महत्वपूर्ण भूमिका खेल्छ । निर्वाचनलाई तोकिएकै समयमा सफल बनाउनका लागि आम जनताले पनि सहयोग गर्नुपर्छ । नागरिकले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउने काम राज्यको हो । जनयुद्धकालमा पनि देशका विभिन्न ठाउँहरुबाट धेरै हतियार लुटिएका थिए । त्यस्तो बेलामा पनि निर्वाचन तोकिएकै समयमा भयो । अहिले कारागारबाट भागेका भनिएका कैदीबन्दीहरु अधिकांश भारतीय नागरिकहरु हुन् । कतिपयले घर परिवारलाई पनि धेरै दुःख दिएका हुन्छन् त्यस्तालाई घर परिवारले पनि कानूनी दायरामा ल्याउन सहयोग गर्दछन् । कुन शक्तिले कारागारका कैदी बन्दीहरु भगाउन सघाएको हो त्यसको छानविन हुनुपर्छ । देशलाई निकास दिन र देशमा भएको विकृत्तिलाई सुधार गर्नका लागि निर्वाचनले सिस्टमको विकास गर्छ त्यस कारण तोकिएकै समयमा निर्वाचन अपरिहार्य छ ।