INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन तोकिएकै समयमा गराउनु सरकारको दायित्व हो

गत भदौ २३ र २४ गतेको नवयुवाहरुको प्रदर्शनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनका लागि समय तोकेको छ । निर्वाचन नजिकंदै गर्दा गाउँ, समुदाय र बस्तीहरुका नागरिकहरुमा निर्वाचनको रौनक देखिदैन । अघिल्ला निर्वाचनमा निर्वाचन नजिकिएसँगै निर्वाचनको माहोल छुट्टै हुन्थ्यो अहिले त्यस्तो छैन । सरकारले तोकिएकै समयमा निर्वाचन गराउनका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नुपर्छ । सबै राजनीतिक दलहरुले पनि निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो भनी निर्वाचनमा सहभागी हुनुपर्छ । लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचन महत्वपूर्ण आवश्यकता हो । त्यस कारण आमनागरिकहरुलाई निर्वाचनप्रति उत्साहित गराउनुपर्छ । निर्वाचन नजिकँदै गर्दा निर्वाचनको विषयमा लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, बाँके, रोल्पा र अर्घाखाँचीका नागरिक अभियान्ताहरु आगामी निर्वाचनको आवश्यकता र तोकिएकै समयमा निर्वाचन हुनेमा कत्तिको विश्वस्त छन् भन्ने विषयमा इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बि.सी.ले गर्नु भएको कुराकानीको सम्पादन अंश यहाँ प्रस्तुत गरिएको छ ।

ठाकुर प्रसाद अधिकारी
नागरिक अभियान्ता अर्घाखाँची

लोकतन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन महत्वपूर्ण पक्ष हो । संसद विघटन भइसकेपछि निर्वाचन अहिलेको आवश्यकता हो । ताजा जनादेशमा जानको लागि सरकारले निर्वाचनमय वातावरण बनाउन सक्नुपर्छ । सरकारले तोकिएकै समयमा निर्वाचन हुन्छ भनिरहे पनि अहिलेको यही अवस्थामा निर्वाचन हुने कुरा जटिल देख्छु । राजनीतिक दलहरु पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्नेमा त्यत्ति प्रतिवद्ध देखिदैनन् । निर्वाचन हुनका लागि नागरिकले सुरक्षित महसुस गर्नुपर्छ । नवयुवा पुस्ताको प्रदर्शनका क्रममा देशका विभिन्न कारागारहरु तोडेर भागेका कैदीबन्दीहरु अहिलेसम्म बाहिरै छन् । लुटिएका हतियारहरु सबै प्राप्त गर्न सकिएको छैन् । हाम्रो जिल्लामा त अस्ति भर्खर पनि हतियार भेटियो । यस्तो अवस्थामा तोकिएकै समयमा निर्वाचन हुन्छ भन्नेमा ढुक्क छैन ।

 

अर्जुन डाँगी
नागरिक अभियान्ता, रोल्पा

अहिलेको अवस्थामा निर्वाचन आवश्यकताभन्दा पनि बाध्यात्मक स्थितिले श्रृजना गरेको कारण निर्वाचन गर्नु परेको हो । आन्दोलनका नाममा धेरै घुसपै७ भयो, धेरै धनजनको क्षति भयो । देश पुनः १० वर्ष पछाडी धकेलिएको छ । राजनीतिक दलमा पनि नैराश्यता देखिन्छ । अहिलेकै यही अवस्थामा निर्वाचन तोकिएकै समयमा हुन सक्दैन कि जस्तो लाग्छ । नागरिक दृष्टिकोणले हेर्दा यो अन्तरिम सरकारको पनि बाध्यता हो जस्तो लाग्छ । फागुन २१ गते निर्वाचन हुनेमा चुनौती देख्छु । गाउँघरतिर पनि निर्वाचनको माहोल देखिदैन । तयारी पनि पूर्ण देखिदैन । म्याद थप गरेर यही सरकारले पछि निर्वाचन गराउन सक्छ । अहिले निर्वाचन हुनलाई पनि त्रासपूर्ण वातावरण छ । मतदान स्थलमा कर्मचारी खटाउन, मतदातालाई सुरक्षित रुपमा मतदान गर्ने वातावरण मिलाउन अहिलेको समय पनि प्रतिकूल छ । यस्तो अवस्थामा स्वच्छ, निष्पक्ष र मर्यादिन वातावरणमा निर्वाचन हुन्छ भन्ने विश्वास छैन ।

जित कुमारी बेल्बासे (सुशीला)
नागरिक अभियान्ता, कपिलवस्तु

सरकार पनि निर्वाचन तोकिएकै समयमा गराउनुपर्छ भनेर जुन हिसाबले लाग्नु पथ्र्याे त्यो देखिदैन । सरकारले ठोस काम गरे जस्तो लागेको छैन । निर्वाचन भइहाल्यो भने पनि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा होला जस्तो लाग्दैन । किनभने नवयुवा पुस्ताको आन्दोलनमा देशका विभिन्न कारागारबाट कैदी बन्दीहरु भागेका छन् । हतियारहरु लुटिएका छन् । त्यस कारण निर्वाचन समयमा हुनेमा कठिन देख्छु ।

धर्मलाल रोकाया
नागरिक अभियान्ता, बाँके

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य हो । तोकिएकै समयमा निर्वाचनको वातावरण सरकारले बनाउनुपर्छ र सबै राजनीतिक दलहरु पनि निर्वाचनका लागि प्रतिवद्ध हुनपर्छ । जनताद्वारा अनुमोदित हुनका लागि तयारी हुनुपर्छ । राजनीतिक दलहरुले निर्वाचनमा स्वच्छ, मर्यादित र भयरहित वातावरण बनाउनका लागि सहकार्य गरेर निर्वाचनमा सहभागि हुनुपर्छ । भदौ २३ र २४ गतेको नवपुस्ताको आन्दोलनमा लुटिएका हतियारहरु र देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई कानूनको कठघरामा ल्याउने काम सरकारले जतिसक्दो छिटो गर्नुपर्छ । युवा पुस्ताहरुले जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गरेका थिए शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको छ । धेरै जनधनको क्षति भएको छ । त्यस कारण निर्वाचन तोकिएकै समयमा हुनुपर्छ । स्वच्छ र निष्पक्ष रुपमा निर्वाचनमा भाग लिन पाउने अधिकारको सुनिश्चितता सरकारले गर्नुपर्छ ।

ठाकुर प्रसाद लोहागुन
नागरिक अभियान्ता, पाल्पा

संसद विघटन भएको अवस्थामा निर्वाचन आवश्यकता हो । लोकतान्त्रिक मुलुकमा निर्वाचन हुनु महत्वपूर्ण पक्ष मानिन्छ । सरकारले तोकिएकै समयमा निर्वाचन गराउनु पर्छ भन्ने लाग्छ । सरकारले मतपत्र छाप्ने, निर्वाचनको तयारी गर्ने भनेर धेरै कामहरु सुरु गरिसकेको छ । निर्वाचन तोकिएकै समयमा गर्नका लागि सुरक्षाको ग्यारेण्टी गर्ने काम सरकारले गर्नुपर्छ । लुटिएका हतियारहरुको खोजी गर्ने, आम नागकिरलाई सुरक्षाको प्रत्याभूति गर्ने, देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई कानूनको कठघरामा ल्याउने कार्य सरकारले गर्नुपर्छ । विभिन्न बहाना देखाएर निर्वाचन तोकिएको समयमा गर्न सकिदैन भनेर गै जिम्मेवारी कोही बन्नु हँुदैन । निर्वाचन गर्नका लागि निर्वाचन प्रहरीको माग, मतपत्र छपाई, प्रमुख निर्वाचन अधिकृत तोक्ने र कर्मचारी खटाउने काम भइरहेको छ । आम नागरिकले भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउनुपर्छ, निर्वाचन हुन्छ र हुनुपर्छ ।

अन्य

भिडियो