कृष्णनगर नपा– २ का युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता ३५ वर्षीय श्याम मिश्राको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सांसद ३८ वर्षीय अभिषेख प्रताप साह विरूद्ध पुस १७ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
पीडित मिश्रालाई पुस ५ गते आरोपित साहले कुटपिट गरेको भन्दै पुस ७ गते इलाका प्रहरी कार्यालय, कृष्णनगरमा उजुरी दिएपनि प्रहरीले मुद्दा दर्ता नगरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा हुलाक मार्फत उजुरी पठाएको थियो । मुद्दा दर्ता भएसँगै प्रहरीले अदालतबाट आरोपितलाई गिरफ्तार गर्न अनुमति लिएको डिएसपी सुनिल मल्लले बताउनु भयो ।
साहले आफ्ना सवारी चालक मार्फत मिश्रालाई घरमा बोलाएर निर्घात कुटपिट पश्चात बाटोमा फाल्न लगाएको पीडित पक्षको आरोप छ । मिश्रालाई स्थानीयहरूले घाइते अवस्थामा बाटोमा फेला पारेपछि उपचारका लागि पुस ५ गते शिवराज अस्पताल, माहाराजगञ्ज पुरयाएका थिए । मिश्राको थप उपचार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको थियो ।
सांसद शाहले हत्या गर्ने उदेश्यले कुटपिट गरेको देखिएकाले प्रहरीले मुद्दा दर्ता गरेको डिएसपी मल्लले बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।