INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ७७ करोड रुपियाँ बराबरको क्षति

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयमा भएको आगजनी, तोडफोडका घटनामा ७७ करोड रुपियाँ बराबरको क्षति भएको प्रदेश सरकारले जनाएको  छ ।

जेनजी आन्दोलनपछि कोशी प्रदेश सरकारले ०८२ भदौ २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर विनम दाहालको संयोजकत्वमा गठन गरेको क्षति अध्ययन तथा मूल्याङ्कन समितिले भदौ २३ र २४ गतेको आन्दोलनमा प्रदेशभर ७७ करोड रुपियाँ बराबरको क्षति भएको प्रतिवेदन ०८२ कात्तिक १४ गते सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर विनम दाहालको संयोजकत्वमा गठित समितिमा वरिष्ठ लेखा अधिकृत ध्यानविलास राई, इन्जिनियर आश्या भट्टराई, इन्जिनियर प्रवीणकुमार यादव र इन्जिनियर सोनम सिन्हा सदस्य सचिव छन् ।

समितिको प्रतिवेदन अनुसार कुल क्षतिको करिब ५४ प्रतिशत सवारी साधनमा क्षति भएको छ ।

आन्दोलनका क्रममा प्रदेश सरकारका विभिन्न कार्यालयका २ सय ६५ ओटा सवारी साधनमा आगजनी वा तोडफोड हुँदा करिब ४१ करोड ५२ लाख रुपियाँ बराबरको नोक्सानी भएको छ ।

सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । सो कार्यालयमा  १५ करोड ६२ लाख रुपियाँ भन्दा बढीको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये सवारी साधनमा मात्र ७ करोड ७९ लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।

आन्दोलनका क्रममा सरकारी उपकरण, कम्प्युटर, प्रिन्टर, एसी, फ्रिज, फर्निचर तथा सूचना प्रणालीमा समेत तोडफोड र आगजनी हुँदा करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारी प्रतिवेदनका उल्लेख छ । कोशी प्रदेश सरकारले गठन गरेको क्षति मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख,  उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख, प्रदेश सभा सचिवालयमा १२ करोड ६७ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८ करोड ८८ लाख, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड,स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ करोड ५८ लाख, खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख र सामाजिक विकास मन्त्रालयमा १ करोड २२ लाख रुपियाँको क्षति भएको छ ।

सबैभन्दा कम क्षति प्रदेश लगानी प्राधिकरणमा ९२ लाख ९९ हजार रुपियाँ  र मुख्य महान्यायाधिवक्ता कार्यालयमा ९५ हजार रुपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि करिब १८ करोड ४६ लाख रुपियाँ आवश्यक पर्ने अनुमान प्रतिवेदनले गरेको छ । सबैभन्दा बढी पुनर्निर्माण खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ९६ करोड ४७ लाख रुपियाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सभा सचिवालयको भवन पुनर्निर्माणका लागि ४ करोड ६७ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १ करोड ६२ लाख, पर्यटन मन्त्रालयका लागि १ करोड २ लाख, खानेपानी मन्त्रालयका लागि ७८ लाख, सामाजिक विकास मन्त्रालयका लागि ३५ लाख, स्वास्थ्य मन्त्रालयका लागि ३३ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयका ३ लाख ६४ हजार रुपियाँ पुननिर्माणमा खर्च हुने अनुमान गरिएको छ ।

समितिले आन्दोलनका क्रममा नोक्सानी भएका सबै सरकारी सम्पत्तिको मर्मत र पुनर्निर्माण तत्काल गर्न प्रदेश सरकारलाई सिफारिस गरेको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो